रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामधुनी नगर कमिटीले ‘३० औँ जनयुद्ध दिवस’ को अवसरमा रक्तदान कार्यक्रम गरेको छ । २०५२ साल फागुन १ गते सुरु भएको दश वर्षे जनयुद्धको सम्झनामा बिहिबार बिहान झुम्कामा माओवादीले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा ६८ जनाले रक्तदान गरेको पार्टी नगर कमिटीका अध्यक्ष बलराम चौलागाईले जानकारी दिए ।
केन्द्रीय सदस्य एवं पूर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं कोशी प्रदेशकी पूर्व उपसभामुख सरस्वती पोख्रेल, कोशी प्रदेश उपाध्यक्ष शिव डाँगी, तत्कालीन संविधान सभाका सदस्य सन्तोष चौधरी, नेकपा एमाले सुनसरीका सचिव राम कोइराला, माओवादी प्रदेश कमिटी सदस्य दिनेश चौधरी, नेपाली कांगेस रामधुनीका सभापति सुदीप अधिकारी लगायत विभिन्न सामाजिक संघ–संस्थाका अगुवाहरुको सहभागिता रहेको थियो ।
२०५२ फागुन १ गतेदेखि दश बर्षसम्म नेपालमा तत्कालीन माओवादी पार्टीको नेतृत्वमा जनयुद्ध चलेको थियो । उत्पीडित श्रमजीवी वर्गले शोषक, सामन्ती शासन व्यवस्थाका विरुद्ध गरेको विद्रोहले नेपाली समाजको रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको भन्दै जनयुद्धको सम्मानमा रक्तदान कार्यक्रम आयोजना गरिएको पार्टी नगर कमिटीका अध्यक्ष चौलागाईले बताए ।