रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले स्वास्थ्य विमा दर्ता सहयोगीलाई साइकल प्रदान गरेको छ । स्वास्थ्य विमाको पहुँच विस्तार गर्न सहजकर्ताको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले मंगलबार १२ जना सहजकर्तालाई साइकल हस्तान्तरण गरेको हो ।
करिब १ लाख बजेटबाट १२ जना दर्ता सहयोगीलाई साइकल, छाता, टिसर्ट र क्याप टोपी प्रदान गरिएको नगरपालिका जिन्सी शाखा प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए ।
साइकल वितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले स्वास्थ्य विमाको दायरामा सबै नगरवासीलाई ल्याउने अभियानमा सहजकर्ताहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा नगर उपप्रमुख तारा थापाले साइकल हस्तान्तरण गरेकी थिइन । अहिले स्वास्थ्य विमा दर्ता सहयोगीलाई प्रोत्साहन स्वरुप साइकल प्रदान गरिएको र आगामी आर्थिक बर्षको बजेटबाट नगरमा कार्यरत सबै महिला स्वास्थ्य स्वंयमसेवीकाहरुलाई साइकल प्रदान गर्ने उपप्रमुख थापाले प्रतिबद्धता व्यक्त गरिन् ।
बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विमा दर्ता सहयोगीहरुले जनताका घरदैलोमै गएर बीमा दर्ता प्रक्रिया र त्यसको लाभका बारेमा जानकारी दिनुका साथै नवीकरणका कामहरु गर्दै आएका छन् ।

































Discussion about this post