बा, तिमी कहाँ छाै ?
किन यति निष्ठुरी बन्याैं ?
बा, तिमीलाई हाम्रो याद अाउँदैन र ?
बा, साच्चै तिमीलाई अामाकाे पनि याद अाउँदैन होला नि ?
बा, तिमीले ठुलो स्वरले पनि कराउन दिन्थेनाै नि___
कान्छा भाइलाई !
म बेलाबेला पिट्छु उसलाई
कत्तिपनि रिस उठ्दैन र बा, तिमीलाई ?
ए, बा सुन न___
हामी सबैकाे याद मेट्ने
उतै काेहि भेट्यौं हाे ?
बा हेर त___
तिमी नहुँदा आज यो समाजले एक्लो बनाएकाे छ,
के तिमी देख्दैनाै र, बा ?
ए, बा सुन त___
तिम्रो लागि तिमीलाई मनपर्ने रक्सि किनेर ल्याइदिउँला,
अाऊ न !
बाेल न एकपटक !
बा, हेर न___
तिमीले मायाले हुर्काएकाे ठुलोभाइ पनि
अाज कति ठुलो भइसक्यो,
त्यहीँ भाइले हजारौं पटक
बा भनेर बाेलाउँदा पनि तिमी किन बाेल्दैनाै ?
आखिर तिमी कहाँ छाैं, बा ?
तिम्रो झर्किएकाे स्वर थर्किएर कानमा बझ्दा
म जहाँ हुँदापनि जुरुक्क उठेर बा’ले बाेलाए भन्दै दगुर्थे
तिमीलाई हामीले हजारौं पटक बाेलाउँदा पनि सुनेनाैं र, बा?
बा, अाज मलाई तिमीलाई धेरै कुराहरू सुनाउँन मन छ___
तिम्राे सास गएपछि ढलेकाे शरीर पल्लो काेठामा थियाे,
वल्लाे काेठामा नब्बे बर्ष पुगेकी तिम्री अामाले
मलिन स्वर र अाँसुले लत्पतिएकाे अनुहार सँगै
मेराे बाबू भन्दै बाेलाएकाे सुनेनाैं/ देखेनाैं हाेला नि, बा ?
तिम्रो पीरमा रातदिन अाँसु झार्दै दैलाकाे तस्वीर हेरेर
मलाई पनि लैजा न,
तँ कहाँ छस् ?
मेराे राजा भन्थिन्
बाचुन्जेल हरेकदिन तिम्रो नाम लिदै अाँसु झार्थिन्
उज्यालो र अाँसुले नभिझेकाे अनुहार कहिल्यै थ्येन उनको
तिमी त आमाको कान्छा छाेरा थियौं नि, बा
सायद तिम्राे पीर मुटुमा बसेछ क्यारे आमालाई
त्यसैले होला,
उनले पनि अाज हामी सबैलाई एक्लै बनाएर गइन नि बा !
तिम्रो लास उठाउँन अाएकाे तिम्रो माइला दाइ,
कति माया गर्थ्यैं तिमीले !
याद छ नि बा ?
बर्षाैं राेगसँग लडेर बस्नुभएको थियाे उहाँ पनि,
राेगलाई जित्न नसकेर
अाज सबैलाई छाडेर जानू भाे उहाँले पनि !
बा, तिम्रो अामा र दाइसँग भेट भयो त ?
आमा कति रुनु भाे हाेला नि, तिमीलाई देखेर ?
तिमी त निकै खुसी पनि भयाैं हाेला नि, अामालाई देखेर ?
खुसी पनि मान्छेअनुसारको बनिदिने रहेछ नि, बा ?
कोहि आउँदा खुसी अनि कोहि जाँदा !
बा, तिम्री अामा र प्याराे दाइ भेटेकाले हाे र___
तिमीले हामीलाई भुलेकाे ?
तिमी त उतै खुसी छाै हाेला नि, बा ?
तर यता हामीलाई तिम्रो अभाव सधैं खड्किने गर्छ, बा !
अनि कि बा !
सुन न___
मास्तिरकाे तीनघरे जेठा
तिम्रो प्रिय साथि थिए नि ?
अाज ऊ पनि बितेर गएकाे बर्षाैं भयाे !
कतै तिम्रो भेट भयाे कि छैन्, बा ?
अनि तिमीलाई कराइरहने माथिल्लाेघरे बाेजु थिए नि ?
उनी पनि बितेर गएकाे बर्षाै भयाे,
तिमीसँग भेट भयाे हाेला है ?
त्यहाँ पनि कराउँछिन् त तिमीलाई ?
बा, रक्सि खाएकाे बेला उसकाे घरकाे बाटै हिड्न दिन्थिनन् अाज पनि रिसाउँछिन् त ती बाेजु ?
तिमी सँगसँगै रक्सी खाने साथीहरु सबै बितिसके
तिम्रो त उतै भेट हुन्छ हाेला नि, बा ?
सबै मिलेर फेरि रक्सी नखाउ है बा !
ए, बा याद छ तिमीलाई ?
तिमी अाफूले खाँदै गरेर खाना समेत दिएर मायाले पालेका
हल गाेरु पनि बेचिए नि,
तिमीलाई रिस उठेन, बा ?
रातभरि जूनकाे उज्यालोमा
हलाे, अनाै, जुवा, पटाह बनाउथ्याैं नि बा, याद छ ?
कसैले माग्न अाए बिग्रेको छ भनेर दिन्थेनाैं नि, बा ?
हेरे त बा___
अाज ती सबै मक्किएर गए
भाचिएर गए
कति त मैले नै चिरेर दाउरा बनाए
रिसाएर झर्किदै कुट्न मन लागेन बा, तिमीलाई ?
निदाउँदा सिरानीमुनि
अनि उठेपछि तिम्रो कम्मरमा बाधिने सिरुवाते खुकुरी कसैलाई दिन्थेनाैं नि बा, याद छ ?
अाज त्याे खुकुरी सबैले चलाएर तिमी हुँदाजस्तो छैन नि बा
अनि कि बा___
तिमीले साथैमा राख्ने कालाे टस थियाे नि,
अामाले विदेशबाट ल्याइदिएको !
अाज त्याे पनि हराएर कता पुग्यो, पत्तै छैन बा !
जाेमसाेम जाँदा किनेकाे अारा याद छ, बा तिमीलाई ?
कति मायाले राख्थ्याैं
कसैलाई दिन्थेनाैं
बेलाबेला धारलाई रहन्थ्याैं
हेर न बा___
अाज त्याे अारा पनि कता हरायो, हरायो पत्तै भएन !
जङ्गलमा दाउरा काट्न भनेर बनाएकाे लामाे दाउ थियाे नि?
त्याे पनि कसले लग्यो लग्यो बा !
बा, तिमी गएपछि तिम्रो सबै समान पनि हरायो,
तर तिम्रो याद कहिल्यै हराएन !
ताताे घामपानी नभनी संसार डुलेर सबैलाई हात जाेड्दै
एउटाएउटा बास मागेर रातदिन नभनी
कति मेहनतले घर बनाएकाे थियौ नि बा, याद छ ?
हेर त बा___
अाज तिमी बितेको केही महिना नभई, त्याे घर पनि ढल्यो
बा, नत तिमी रह्याैं
नत तिम्रो मेहनतकाे घर रह्याे
नत तिम्रा समान रहे
केही रहेन, बा !
हेर त___
अाज हामीसगँ तिम्रो कुनै पनि चिजहरु छैनन्
तिमी हुँदा सबै थियो
जब तिमीले छाेडेर गयाैं सबैले छाेडेर गयाे
बा, तिमीलाई माया लागेन___
तिमी सँगसँगै घरकाे छाना लडेर जाँदा !
हाम्रो बिचल्ली हालत देखेर कत्तिपनि मन दुखेन, बा ?
साच्चै बा, सुन न___
तिमीलाई झर्काे त लागेकाे छैन नि है ?
खाेलामा कति मेहनत गरेर तिमीले राेपेकाे कदमकाे रुख
हेर न, अाज जझुसुलकिराले बास गर्न थालेकाे छ, बा !
तिमी भने अर्कै संसारमा बास गर्न पुग्यौं
अनि तिमीले राेपेकाे बाँस कति धेरै झ्याङगिएकाे छ, बा !
बा, स्वर्गमा आजभोलि तिमीलाई तिर्खा लाग्दैन र ?
तिमीले बनाएकाे कुवामा गाउँले सबै अाउँछन्
प्यास मेट्न
तिम्रो अभाव खड्किदा म त्यहीँ कुवामा जान्छु
तिम्रा यादहरु मेट्न !
तिमी कसरी यति निष्ठुरी बन्न सक्यौं, बा ?
बा, तिमी बस्ने ठाउँ कस्तो छ ?
बेलाबेला तिमीलाई ब्लड प्रेसरले च्याप्छ
अझै पनि उस्तै हाेला नि, बा ?
बा, त्यहाँ पनि रक्सी पाउँछ र ?
तिम्राे खराब बानी छ, रक्सी खाने !
नखाउ है बा !
त्यहाँ फेरि रक्सी खाने सबै साथी भेटेर
खुसी मनाउँदै खाउला नि, बा !
नखाउ है बा !
फेरि प्रेसरले लड्याैं भने हामी हुनेछैनौं, तिमीलाई उठाउँने !
फेरि हस्पिटल पनि नहाेला त्यहाँ !
बा, तिमीबिना न त छाना रह्याे
न नाना
बा, अाज बर्षाै भाे तिमीले छाेडेर गएकाे
तर किन तिम्रो अभाव सधैं खड्किरह्यो ?
बा, तिमीबिना बहादुर बन्नै गाह्रो हुने रहेछ
बा, तिमी बिना !
तिम्रो साथबिना ।
कवियत्री: शोभा दियाली (पथरी, मोरङ)