चर्को घाम र गर्मीको बीच दिउँसोको ठीक २ बजे हामी फाल्गुनन्द गाउँपालिका हुँदै पाँचथर बजार छिर्यौँ । गाडीमा एकजना यात्रुसँग चिनजान भयो । आफूलाई पत्रकार बताउने उनी ‘हामी १० वर्षे जनयुद्धबाट जन्मेका, प्रचण्ड लाइनका पत्रकार’ भनी ठोकुवा गर्दै थिए । मैले रमाइलो लागेर सुनेँ । तर, आफू सामान्य यात्रु जस्तो बनिरहेँ । राजनीतिबारे केही बोलेनँ, बरु पछाडिको सिटमा बस्नुभएका शिशिर भट्टराई भाई राससका पत्रकार भएको जानकारी मात्र दिएँ ।
ताप्लेजुङ जाने गाडीमा हामी उक्ल्यौँ । अग्ला पहाडहरू, गहिरा खोल्साहरू पार गर्दै यात्रा अघि बढ्दै थियो । म डाँडा, खोल्सी, मान्छे, बस्तिहरू नियाल्दै थिएँ—जति हेरे पनि मन अघाउँदैन । यात्रा सधैँ मलाई मोहक लाग्छ । नयाँ ठाउँ, नयाँ अनुभव, नयाँ मान्छे—यात्रा भनेकै अनेक भोगाइको संगालो न हो ।
गाडीमा ती पत्रकारसँग फेदीबाट पाथीभरा मन्दिर कति समय लाग्छ भनेर सोध्दा, उनले हामीलाई ‘तराईका मान्छे, गाह्रो पर्छ, ५÷६ घण्टा लाग्छ’ भने । शिशिर भाइले भने—‘दाजु त हाइकिङ् पनि गर्नुहुन्छ,’ तर पनि उनको अनुहारमा शंका देखियो । मैले फुर्तीका साथ थपे, ‘हामी त पाख्रिबासदेखि तुम्लिङटारसम्म एकैदिन हिंड्थ्यौँ !’
तर उत्साह धेरै क्षण टिकेन । उकालो मोड, गाडीको तिब्र गतिमा मलाई चक्कर आउन थाल्यो । रिंगटा, वाकवाकी अनि लगातार बान्ता । ड्राइभरचाहिँ मोडमै मोबाइलमा व्यस्त । भित्रैदेखि शिथिल भएँ—‘कतिबेला पुगिन्छ र शान्त हुन्छ’ भन्ने चिन्ता मात्रै बाँकी रह्यो ।
‘आजसम्म मेरो गाडीमा बृद्ध वा बच्चाले मात्र बान्ता गरे, तपाईं मात्र हो जवान भएर पनि…!’ ड्राइभरले भन्थे । मलाई उसको गुनासोभन्दा, ओर्लने अनि आराम गर्ने चाहना मात्र बलियो भएको थियो ।
अन्ततः ताप्लेजुङ सदरमुकाम पुग्यौँ । हामी बासको खोजीमा निस्क्यौँ । एउटा होटलमा ‘कोठा छ ?’ भनेर सोध्दा रिसाएको जस्तो गरेर ‘छैन’ भन्ने जवाफ आयो । थकित, धुलाम्मे देखिएका हामी ‘पैसावाल होइनन्’ भन्ने पूर्वाग्रहले त्यहाँबाट टारिएको अनुभूति भयो ।
अन्ततः नमस्ते होटल पुग्यौँ । राम्रो कोठा, राम्रो व्यवहार । चिसो पानीले नुहाएर शरीर हलुका बन्यो, मन त झन् हलुका । बजार घुम्न निस्क्यौँ । बजारमा एक दिदी हरियो मकै पोल्दै थिइन् । दुई दुई घोगा मकै खायौँ । दिदीले हामीलाई थप दुई घोगा ‘बोनस’ दिइन । हामीले पाथिभराबारे सोध्दा भनिन्—‘म त एक घण्टामै पाथीभरा पुगेको छु ।’ नजिकैकी प्रहरी बहिनीले भनिन्—‘३/४ घण्टा त लागिहाल्छ !’
भोक मेटियो । थकान मेटियो । फेरि होटल फर्कियौँ । खाना खायौँ, ओछ्यानमा पल्टियौँ ।
अनि जीवनकै पहिलोपल्ट ताप्लेजुङको न्यानो छातीमा लपक्क निदायौँ । हामी पाहुना थियौँ—ताप्लेजुङको ममतामयी काखमा ।
क्रमशः