रामधुनी । नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा पक्षबीच मतभेद चर्किरहेका बेला कांग्रेस रामधुनी नगर सभापति सुदीप अधिकारीले पार्टीभित्र एकताको आवश्यकता औंल्याएका छन् ।
अधिकारीले आज सामाजिक सञ्जालमार्फत पार्टीभित्रको आन्तरिक विवादलाई महाभारतको कौरव–पाण्डवबीचको संघर्षसँग तुलना गर्दै आफ्नैबीचको लडाइँले पार्टीलाई कमजोर बनाउने बताएका हुन् ।
‘अहंकारको अग्लो पर्खाल ढालेर आत्मसमीक्षाको चौतारीमा उभिएर एकताको फूल फुलाउँदै अनुभवसहित इतिहासको विरासत र प्रविधिमैत्री वर्तमानको नयाँ जोसिलो विचारबीच अभूतपूर्व संगम हुनु आजको अनिवार्य आवश्यकता हो कांग्रेसमा,’ उनले लेखेका छन् ।
पार्टीभित्र आपसी विभाजन बढाउने प्रतिस्पर्धा गर्न नहुने भन्दै अधिकारीले कौरव र पाण्डवबीचको युद्धले अन्ततः आफ्नै कुलको विनाश निम्त्याएको प्रसंग उल्लेख गरेका छन् । ‘आपसी विभाजनमा कसले सबैभन्दा तिखो काँडा रोप्न सक्छ भन्ने होडबाजी गर्नु/गराउनु भनेको महाभारतमा कौरव र पाण्डवको आफ्नै दाजुभाइबीचको लडाइँले सम्पूर्ण कुलकै विनाश निम्त्याएको र आफ्नाहरूसँगको जुधाइमा पाइने जीत पनि अन्ततः सर्वनाश र हार मात्रै हो,’ उनले भनेका छन् ।
कांग्रेसमा पछिल्लो समय बिषेश महाधिवेशनपछि सभापति थापा निर्वाचित भएसँगै देउवा पक्षले बिषेश महाधिवेशनको निर्णय नमान्ने अडान राख्दै आएको छ । यही पृष्ठभूमिमा अधिकारीको अभिव्यक्तिलाई पार्टीभित्र बढ्दो मतभेदप्रति स्थानीय तहका नेताको एकताको आग्रहका रूपमा लिइएको छ ।
अधिकारीले पार्टीको पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा प्रविधिमैत्री सोचलाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।































Discussion about this post