रामधुनी । नेपाली कांग्रेस सुनसरीको जिल्ला सभापतिमा हेमकर्ण पौडेलले दावी गरेका छन् । जिल्ला अधिवेशनको मिति तय भइनसके पनि उनले आफ्नो पक्षमा समर्थन जुटाउन नेताकार्यकर्तासँग आन्तरिक छलफल अघि बढाएका हुन् ।
यसपटक पार्टीको नेतृत्व इनरुवाबाहिर ल्याउनुपर्ने एजेन्डासहित उनले आफ्नो अभियान अघि बढाएका छन् । इटहरी उपमहानगरपालिकाका मेयरसमेत रहेका पौडेलले वर्तमान सभापति केदार भण्डारीलाई चुनौती दिँदै नेताकार्यकर्ताको समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
पौडेलले विभिन्न क्षेत्रका नेताहरूसँग आन्तरिक छलफललाई तीव्रता दिएका छन् । लामो समयदेखि जिल्ला नेतृत्व इनरुवामै केन्द्रित रहेको भन्दै उनले यसपटक नेतृत्व अन्य क्षेत्रबाट आउनुपर्ने राजनीतिक भाष्य निर्माण गरिरहेका छन् ।
पौडेलको रणनीति जिल्ला समन्वय समितिका प्रमुख राजन मेहताको समर्थन जुटाउनेमा समेत केन्द्रित छ । पौडेलसँगै वर्तमान जिल्ला सभापति केदार भण्डारी, इटहरीकै जिल्ला उपसभापति नागेशचन्द्र राई र जिल्ला सचिव विरेन्द्र साह सभापतिका आकांक्षी देखिएका छन् ।
































Discussion about this post