रामधुनी । नेकपा एमाले रामधुनी नगरपालिका–७ नम्बर वडा कमिटीले मंसिर ६ गते म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । स्वास्थ्य जीवनशैली प्रवर्द्धन गर्नुका साथै पार्टी र समाजबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा खुला र १८ वर्षमुनिका दुई विधामा प्रतिस्पर्धा हुनेछ । खुलातर्फ ५ किलोमिटर र १८ वर्षमुनिका लागि ३ किलोमिटर दौड हुनेछ । प्रतियोगिता बिहान ५ बजेदेखि सुरु हुनेछ ।
दुवै विधामा प्रथम हुनेले १५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार र ५ हजार रुपैयाँ पाउनेछन् । निर्धारित दूरी पूरा गर्ने सबै सहभागीलाई टी–सर्ट र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।
प्रतियोगिता पञ्चायनस्थित बरपिपल चोकबाट सुरु भई रामधुनी–इटहरी सीमाको हात्ती चोकमा पुगेर टुंगिने स्थानीय एमाले नेतृ सोमकुमारी राईले जानकारी दिइन् ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रामधुनी–७ का कार्यवाहक वडाध्यक्ष वासुदेव माझी, एमाले वडा कमिटी अध्यक्ष पूर्णबहादुर मगर, वडा सदस्य श्रवण चौधरी र त्रेत्रीदेवी खत्वेलगायत सहभागी थिए ।




































Discussion about this post