इनरुवा । सुनसरीको इनरुवा अस्पतालमा विवाद बढ्दै गएपछि ८ जना चिकित्सकले सामुहिक राजिनामा दिएका छन् ।
डाक्टरलाई धम्क्याउँने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्ट डा.देवराज घिमिरेले नै समर्थन गरेको भन्दै उनीहरुले शुक्रबार राजिनामा दिएका हुन् ।
सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृतहरु डा. महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेकुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल रहेका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट डा. घिमिरेले राजनैतिक शक्तिको आधारमा मनपरी गर्दै आएको र चिकित्सकमाथि हुने आक्रमणको घटनामा साथ दिँदै आएको चिकित्सकहरुको आरोप छ ।
तर, मेडिकल सुपरिटेन्डेन्ट डा. घिमिरे भने चिकित्सकहरुकै गल्तीको कारण अस्पतालमा विवाद उत्पन्न भएको बताएका छन् ।