रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ९ ले युवायुवतीहरुलाई लक्षित गरेर लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ ।
बुधबार एक कार्यक्रमका बीच वडाले लोकसेवा तयारी कक्षाको उद्घाटन गरेको छ । आफ्नो वडामा शैक्षिक बेरोजगारी कम होस्, पिछडीएको क्षेत्र र बर्गका युवायुवतीकोसमेत राज्यका हरेक निकायमा उपस्थिति होस् भन्ने उद्देश्य यस्तो कार्यक्रम अघि सारिएको वडा अध्यक्ष घनश्याम चौधरीले बताए ।
उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, उपमेयर तारा थापा, सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
करिब २१ दिनसम्म निःशुल्क सञ्चालन हुने यो तयारी कक्षामा प्रशिक्षकको रुपमा अधिकृत द्वय रामधुनी नगरपालिका लेखा साखा प्रमुख विरेन्द्र सिग्देल र राजश्व साखा प्रमुख सुबोध निरौला रहने वडा कार्यालयले जनाएको छ ।