रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले भूमि व्यवस्थापनतर्फ करार सेवामा सहायक कम्प्युटर अपरेटर पदपूर्तिका लागि सञ्चालन गरेको लिखित परीक्षाको नतिजा विवादित बनेपछि स्थानीय आक्रोशित भएका छन् ।
स्थानीयले मंगलबार नगर प्रमुख शंकरलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत तेज नारायण यादवको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै सोमबार नगरपालिका पुगेका स्थानीयसँग नगर उपप्रमुख तारा थापाले परीक्षा रद्द गर्ने प्रतिबद्धता जनाएकी थिइन् । तर परीक्षा रद्द गर्न कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने भए पनि नगर प्रमुख चौधरीले फोन नउठाएको र प्रमुख प्रशासकीय अधिकृत यादव काठमाडौं गएको भन्दै स्थानीयले दुवै जनाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
स्थानीय भीम लुइँटेलका अनुसार उपप्रमुखले परीक्षा रद्द गर्ने प्रतिबद्धता जनाए पनि त्यसका लागि आवश्यक कार्यपालिका बैठक बस्न नसकेपछि बाध्य भएर तालाबन्दी गरिएको हो । स्थानीयले लिखित परीक्षाको नतिजा निष्पक्ष नभएको भन्दै परीक्षा रद्द गर्न माग गरेका छन् ।
नगरपालिकाले सोमबार नै सूचना निकालेर मौखिक परिक्षा तत्काललाई स्थगित गरे पनि परिक्षाको नतिजा रद्ध भने गरेको छैन ।
नगर उपप्रमुख तारा थापा भने मंगलबार कार्यालयमै उपस्थित छिन् । समस्या समाधानका लागि आफू कार्यकक्षमै बसेर निरन्तर छलफलमा रहेको उपप्रमुख थापाले हाम्रोशब्दलाई जानकारी दिइन् । नगर प्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृत यादव भने कार्यालयमा उपस्थित छैनन् ।
नगरपालिकाले मालपोत कार्यालयको सेवा सञ्चालन गर्ने तयारीसँगै ६ जना सहायक कम्प्युटर अपरेटर नियुक्तिका लागि गत आइतबार लिखित परीक्षा सञ्चालन गरेको थियो । लिखित परीक्षाको नजिता सार्वजनिक भएपछि विवाद चर्किएको हो ।
नतिजामा नाम सार्वजनिक भएकामध्ये अधिकांश नगरपालिका निकट व्यक्तिका आफन्त रहेको भन्दै स्थानीयले प्रश्न उठाएका छन् । उनीहरूले परीक्षा तथा छनोट प्रक्रिया निष्पक्ष नभएको आरोप लगाउँदै तत्काल नतिजा रद्द गर्नुपर्ने माग गरेका छन् ।
यता, नगरपालिकाभित्रको विवाद समाधानका लागि छलफल भइरहेको उपप्रमुख थापाले बताएकी छन् ।































Discussion about this post