रामधुनी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ को क्षेत्रीय सभापतिसहित विभिन्न पदको निर्वाचन प्रक्रिया स्थगित भएको लामो समय बितिसक्दा पनि निकास ननिस्किएको भन्दै क्षेत्रीय सभापतिका उम्मेदवार सुदीप अधिकारीले असन्तुष्टि जनाएका छन् ।
अधिकारीले ४८३ जना मतदाताले मतदान गरिसकेको अवस्थामा प्राविधिक समस्याका कारण निर्वाचन स्थगित गरिएको र त्यसको भोलिपल्टै निर्वाचन सम्पन्न गराइदिन निर्वाचन आयोगमा निवेदन दिइएको भए पनि निर्वाचन प्रक्रियालाई पूर्णता दिनेतर्फ नेतृत्वले चासो नदेखाएको बताएका छन् ।
‘४८३ जना मतदाताले मतदान गरिसकेको अवस्थामा निर्वाचनलाई पूर्णता दिनुको साटो क्षेत्रीय कार्यसमितिलाई अनिर्णयको बन्दी बनाइराख्नु पार्टीको आन्तरिक लोकतन्त्रका लागि शोभनीय होइन,’ अधिकारीले भनेका छन् ।
निर्वाचन स्थगित भएपछि ‘सर्वसम्मति’का नाममा महाधिवेशन प्रतिनिधि चयन गरिएको प्रक्रियामाथि समेत उनले प्रश्न उठाएका छन् । महाधिवेशन प्रतिनिधि कुन आधार र कुन बैठकको निर्णयबाट चयन गरिए तथा त्यसमा को–को संलग्न थिए भन्ने विषय पारदर्शी हुनुपर्ने उनको माग छ ।
‘विधिवत् रूपमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दर्ता गराएका र उम्मेदवारी फिर्ता नलिएका व्यक्तिहरूलाई कुन विधि र विधानअनुसार सूचीबाट हटाइयो ? यसबारे सम्बन्धित उम्मेदवार र आम कार्यकर्तालाई सुसूचित किन गरिएन ?’ उनले प्रश्न गरेका छन् ।
सर्वसम्मतिका नाममा चयन गरिएका प्रतिनिधिले हालसम्म प्रमाणपत्र नपाएको र निर्वाचन प्रक्रियामै निर्विरोध निर्वाचित भएका चार जना प्रतिनिधिले समेत प्रमाणपत्र नपाएको भन्दै अधिकारीले त्यसको कारण सार्वजनिक गर्न माग गरेका छन् ।
‘आन्तरिक अधिवेशनको निर्वाचनमा भाग लिने र सहमतिका लागि प्रयास गर्ने सबैको एउटै उद्देश्य संगठन निर्माण र पार्टीलाई बलियो बनाउनु नै हो । असन्तुष्ट उम्मेदवार र कार्यकर्ताको चित्त बुझाएर विधिपूर्वक निकास निकाल्नु नेतृत्वको प्राथमिक दायित्व हो,’ उनले भनेका छन् ।
विवादलाई समयमै समाधान नगरिए स्थगित निर्वाचन प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि बनेको विषयमा पार्टीका सार्वजनिक मञ्च तथा कार्यक्रममा प्रश्न उठ्न सक्ने उनको चेतावनी छ ।
‘भोलिका दिनमा सार्वजनिक मञ्च तथा पार्टीका कार्यक्रममा स्थगित भएको निर्वाचन प्रक्रियाबाट तपाईं कसरी महाधिवेशन प्रतिनिधि बन्नुभयो ? भनी आम कार्यकर्ताले प्रश्न उठाउँदा सम्बन्धित व्यक्तिहरू निरुत्तर भई कार्यक्रमबाटै बाहिरिनुपर्ने असहज परिस्थिति सिर्जना नहोला भन्न सकिन्न,’ अधिकारीले उल्लेख गरेका छन् ।
व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेर क्षेत्रीय कार्यसमितिलाई अनिर्णयको अवस्थाबाट मुक्त गर्न र पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा गर्न उनले नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
अधिकारी सुनसरी क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदका उम्मेदवार हुन् । उनीसँगै इनरुवा नगरपालिकाका पूर्वमेयर राजन मेहता पनि क्षेत्रीय सभापति पदका उम्मेदवार छन् ।

































Discussion about this post