रामधुनी । नेपाली कांग्रेस सुनसरीको जिल्ला सभापतिका लागि नेताहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । अधिवेशनको मिति तय भइनसके पनि वर्तमान सभापति केदार भण्डारी, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, जिल्ला उपसभापति नागेशचन्द्र राई र सचिव वीरेन्द्र शाहले नेतृत्वका लागि आन्तरिक अभियान अघि बढाएका छन् ।
वर्तमान सभापति भण्डारी दोस्रो कार्यकालका लागि सभापतिमा दोहोरिने तयारीमा छन् । इनरुवा नगरपालिकाका मेयरसमेत रहेका भण्डारी सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा देखिएका छन् । यता इटहरीका मेयर पौडेल भने यसपटक जिल्ला नेतृत्व इनरुवाबाहिर ल्याउनुपर्ने एजेन्डासहित आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय छन् ।
सतहमा भण्डारी र पौडेलबीच मुख्य प्रतिस्पर्धा देखिए पनि उपसभापति राई र सचिव शाहले समेत सभापतिमा आकांक्षा राखेका छन् । राईले कार्यकर्तासँगको आन्तरिक छलफललाई प्राथमिकता दिएका छन् । पार्टीमा लामो समय काम गरेका र कार्यकर्तामाझ सक्रिय रहेका नेताले नेतृत्व लिनुपर्ने उनको तर्क छ । लाभका पदमा पटक–पटक अवसर पाएका नेताहरूले पार्टीलाई पर्याप्त समय दिन नसकेको भन्दै उनले आफ्नो दाबेदारी बलियो रहेको बताएका छन् ।
त्यस्तै, जेसीज र उद्योग वाणिज्य संघ हुँदै कांग्रेसको राजनीतिमा प्रभावशाली पहिचान बनाएका शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका निवर्तमान सचिवसमेत रहेका शाह नेविसंघ र तरुण दल हुँदै राजनीतिमा आएका हुन । उनले सुनसरीका १२४ आटै वडामा प्रशिक्षण दिइसकेका छन् । आफ्नो उम्मेदवारी कसैलाई सहयोग गरेर फिर्ता लिने मनसाय नरहेको उनले बताएका छन् ।
































Discussion about this post