रामधुनी । रामधुनी नगरपालिकाले ५ बेडको हस्पिटल बनाउँने भएको छ । त्यसका लागि नगरले आइतबार सम्पन्न १७ औँ नगर सभाबाट एक करोड ४९ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
झुम्का बजारमा रहेको पुरानो नगरपालिकाको भवनलाई नगरपालिकाले हस्पिटलको रुपमा बिकास गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । बजेट अभाव लगायत विभिन्न कारणले हस्पिटल निर्माणको काम भने अघि बढन सकेको थिएन ।
नगर सभाबाट बजेट विनियोजन भएसँगै अब हस्पिटल निर्माणको काम चाडैँ अघि बढ्ने रामधुनीका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले बताए । उनले भने, ‘नगरमा सरकारी तहबाट सञ्चालित हस्पिटल नहुँदा आम जनतालाई स्वास्थ्य उपचारमा समस्या भएको छ । स्वास्थ्य विमाको रेफरको सुविधा लिनलाई पनि हाम्रा नगरवासीहरु इनरुवा, इटहरी पुग्नुपर्ने बाध्यता छ । यस्ता समस्याको अन्त्यका लागि नगरले हस्पिटल निर्माणको कामलाई प्राथमिकतामा राखेको छ । त्यसैले यो हिउँदे नगर सभामा हामीले बजेट पनि करिब डेढ करोड राखेका छौँ ।’