रामधुनी । रामधुनी नगरपालिकाले विकासको यात्रासँगै मौलिक पहिचान संरक्षण र समुदाय सशक्तिकरणको मिसनलाई पनि अगाडि बढाइरहेको छ । स्थानीय तह निर्वाचन २०७९ यता नगरपालिकाले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी जस्ता क्षेत्रसँगै संस्कृतिको संरक्षणलाई समेत समान महत्व दिँदै आएको छ । खासगरी थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान जगेर्ना गर्न रामधुनीले देखाएको सक्रियता साँच्चिकै उदाहरणीय छ ।
रामधुनी थारु समुदायको बाक्लो बसोबास रहेको छ । उनीहरूको जीवनशैली, भाषा, पहिरन, पर्व र परम्परा यस भेगको मौलिकता हो । तर विकासको गतिसँगै परम्परा हराउने जोखिम बढ्दै गएको बेला नगरपालिकाले भने मौलिकता जोगाउने दिशामा गम्भीर देखिएको छ । गाउँबस्तीका पुराना धमा, ढकिया, मना, जस्ता थारु समुदायको सांस्कृतिक धरोहरहरू संरक्षणमा नगरपालिका जुटेको छ ।
धमा, ढकिया, मना थारु समुदायको पौराणिक हस्तकला भएको त्यसलाई ग्रामथान र कुल देवतामा फलफूल चढाउँन प्रयोग गरिने गरेको आदिवासी जनजाति पत्रकार महासंघ सुनसरीका अध्यक्षसमेत रहेका थारु अधिकारकर्मी सुनिल चौधरीले बताए । उनले भने, ‘पुजाआज, कुलदेवता र ग्रामथान लगायतमा यसमा फलफूल चढाउँनु शुद्ध मानिन्छ ।’ धमा, ढकिया, मना संरक्षणका लागि नगरपालिकाले बर्षेनी बजेट विनियोजन गर्दै आएको छ । अघिल्लो आर्थिक बर्ष ०८०/०८१ म २ लाख रुपैँया बजेट विनियोजन गरेको नगरपालिकाले चालु आर्थिक बर्षमा १ लाख विनियोजन गरेको थियो ।
त्यस्तै, थारु संस्कृति झल्किने परम्परागत धुम्रानाच संरक्षणसँगै नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । धुम्रानाचको तालमा पाइला मिलाउँदै युवापुस्ताले आफ्नै पहिचानको खोजी गर्ने मौका पाएका छन् । यसले परम्परा जोगाउने मात्र होइन, समुदायको आन्तरिक एकता र गौरव बढाउन समेत टेवा पुगेको छ । नगरपालिकाले बर्षेनी बजेट विनियोजन गरेर थारु कल्याणकारीणि सभासँगको सहकार्यमा धुम्रानाच संरक्षणको काम गरिररहेको थाकस रामधुनीकी उपाध्यक्ष सीता थरुनीले बताइन । उनले भनिन्, ‘नगरपालिकाले धुम्रानाचको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरणका लागि काम गरिरहेको छ । यो सकारात्मक काम हो । थारु कल्याणकारीणि सभा र नगरपालिकाको सहकार्यमा हामीले यो काम गर्दै आएका छौँ ।’
नगर प्रमुख शंकरलाल चौधरीले थारु समुदायको मौलिक संस्कृति जोगाउनु पनि विकासकै अभिन्न पाटो भएको बताए । उनले भने, ‘थारु समुदायको मौलिक संस्कृति जोगाउनु पनि विकासकै अभिन्न पाटो हो । हामी थारु मात्र होइन, नगरभित्रका सबै समुदायको मौलिक परम्परा जोगाउन प्रतिबद्ध छौँ ।’
त्यस्तै, चालु आर्थिक बर्ष रामधुनी वडा नम्बर १ सँगको सहकार्यमा आदिवासी जनजातिको अधिकार सम्बन्धि महासन्धी आइएलओ १६९ मा भएको अधिकारबारे समेत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै अघिल्लो आर्थिक बर्ष २ लाख ३३ हजार बजेटमा आदवासी जनजाती सम्बन्धि अन्तरक्रिया कार्यक्रमसमेत रामधुनीमा सम्पन्न भएको छ ।
रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)































Discussion about this post