रामधुनी । रामधुनी नगरपालिका–४ मा विकासले तीव्र गति लिएको छ । स्थानीय तह निर्वाचन २०७९ पछि तीन वर्षको अवधिमा वडाभित्र झण्डै पाँच किलोमिटर सडक कालोपत्रे भएको छ ।
संघीय सरकार, प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा सम्पन्न भएका यी विकास निर्माणका कामहरुले वडाको स्वरूप बदलिदै गएको वडा अध्यक्ष कमल कार्कीले बताए । उनका अनुसार पिडारीदेखि पत्थरदेवा सडक खण्डमा करिब एक किलोमिटर सडक कालोपत्रे भइसकेको छ । त्यसैगरी रामपुरा क्षेत्रमा ४ सय १३ मिटर, सेराखोला–रामधुनी सडकमा ४ सय २० मिटर, फुदन चौधरीको मिलबाट लालपुर माविसम्म करिब १ किलोमिटर, बैठारदेखि बन डिभिजनसम्म १ हजार ५०० मिटर र लालपुर माविदेखि बैठार चौकसम्म ५०० मिटर सडकमा कालोपत्रे निर्माण भएको र कतिपय अन्तिम चरणमा पुगको वडा कार्यालयले जनाएको छ ।
त्यस्तै वडाका विभिन्न ६ स्थानमा इन्टरलक बाटो निर्माण गरिएको छ । साथै वडा कार्यालयको माथिल्लो तलामा र इक्राहीमा सभाहल निर्माण भएको छ ।
रामधुनी—४ मा शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण काम भइरहेका छन् । रामधुनी माध्यमिक विद्यालय लालपुरमा सिसिक्यामेरा जडान, विद्यालय तथा कक्षाकोठामा रङरोगनको काम हुनुका साथै अंग्रेजी माध्यममा पठनपाठन गर्नेसमेत तयारी भइरहेको छ ।
वडालाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउँनेतर्फ काम भइरहेको वडा अध्यक्ष कमल कार्कीले बताए । उनले भने, ‘विकास भनेको जनताको आधारभूत आवश्यकता पूरा गर्नु हो । सडक, भवन र अन्य पूर्वाधार निर्माणले हाम्रो वडालाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाइरहेको छ । तीन वर्षमा हामीले जति काम गरेका छौँ, त्यो रामधुनी–४ को इतिहासमै महत्वपूर्ण हो । यसमा संघ, प्रदेश र स्थानीय सरकारको ठूलो सहयोग रहेको छ ।’
स्थानीयवासीहरू पनि परिवर्तनको महसुस गर्न थालेका छन् । पहिले हिलाम्मे र धुलाम्मे सडकमा हिंड्न बाध्य भएका वडावासी अहिले सहज र सुरक्षित यातायातको सुविधा पाएका छन् । विद्यार्थी, वृद्धवृद्धा र सर्वसाधारण सबैका लागि सहजता थपिएको छ । रामधुनी–४ को विकास यात्राले देखाएको गति अब अन्य योजना र पूर्वाधार विस्तारसँगै अझ तीव्र बनाउने तयारी वडा कार्यालयले गरिरहेको छ । अध्यक्ष कार्की भन्छन्, ‘महत्वपूर्ण काम भएका छन् । बाँकी सपना पुरा गर्न अझ धेरै योजनाहरु छन्, क्रमशः हामी त्यसतर्फ अगाडि बढदैछौँ ।’
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post