रामधुनी । रामधुनी नगरपालिकाले जनतामाझ सेवा, विकास र सहकार्यलाई अझ मजबुत बनाउन टोल विकास संस्थामार्फत सामाजिक रूपान्तरणको अभियान अघि बढाएको छ । नगर क्षेत्रका सबै ९ ओटै वडामा टोल विकास संस्था गठन भइसकेको छ । त्यसपछि प्रत्येक वडामा टोल विकास सञ्जालसमेत गठन गरी संचालनमा ल्याइएको छ ।
नगरपालिकाले नगरस्तरमै ‘टोल विकास नगर सञ्जाल’ समेत गठन गरेर सबै टोल बिकास संस्थालाई एउटै संरचनामा आबद्ध गरेको छ । अहिले रामधुनी नगर क्षेत्रमा जम्मा १ सय ९७ ओटा टोल विकास संस्था क्रियाशील रहेका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी जानकारी दिए ।
सामुदायिक सहभागिता र सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित नगरपालिका र जनताबीचको सेतुका रुपमा यी टोल विकास संस्थाहरू क्रियाशील छन् । नगरपालिकाले टोल विकास संस्था सञ्चालन ऐन २०७९ नै बनाइसकेको छ । अहिले त्यसको कार्यविधि निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कार्यविधि बनेपछि यी संस्थाहरु अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षमा टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्न तालिमसमेत सम्पन्न गरिएको छ । तालिमबाट उनीहरूलाई नेतृत्व, योजना निर्माण, बजेट व्यवस्थापन र स्थानीय सहकार्यका सीप दिइएको छ ।
नगरप्रमुख शंकरलाल चौधरीका अनुसार टोल विकास संस्थामार्फत नगरपालिकाले समुदायको आवश्यकता बुझ्दै स्थानीयस्तरमै योजना निर्माण र कार्यान्वयन गर्ने बाटो खोल्नेछ । नगरपालिकाले टोल विकास संस्थालाई समुदायका समस्या पहिचान, योजना छनोट, कार्यान्वयन र निगरानीमा महत्वपूर्ण साझेदारको रूपमा अगाडि बढाउँने नीति लिएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post