रामधुनी । रामधुनी नगरपालिका वडा नं. १ ले सन्तुलित र समावेशी विकासलाई प्राथमिकतामा राख्दै सबै क्षेत्र र समुदायलाई समेट्ने गरी बजेट विनियोजन गर्ने गरेको पाइएको छ । वडाले भौतिक पूर्वाधार विकाससँगै सामाजिक क्षेत्र, शिक्षा, कृषि, बालबालिका, अपांगता भएका व्यक्ति, थारु, मुस्लिम समुदायका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरेको छ ।
शिक्षा क्षेत्रमा वडाले भादगाउँ सिनुवारी माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सञ्चालनका लागि ३ लाख रुपैयाँ र सरस्वती आधारभूत विद्यालयका लागि १ लाख रुपैयाँ बजेट छुट्याएको थियो । यसले विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच बढाउने अपेक्षा गरिएको छ । कृषकका लागि तरकारी बालिको विउविजनमा ५० हजार र मकैको विउ वितरणमा थप ५० हजार बजेट विनियोजन गरिएको थियो । यसले वडाका कृषकलाई उत्पादन बढाउन सहयोग पुगेको छ ।
सामाजिक क्षेत्रतर्फ वडाले थारु आदिवासी समुदायको संस्कृतिक कार्यक्रमका लागि १ लाख, युवा तथा खेलकुद विकासमा २ लाख, बालबालिकाका लागि १ लाख, पछाडि पारिएका वर्ग तथा मुस्लिम समुदायका लागि ५० हजार र अपांगता भएका व्यक्तिका लागि २० हजार रुपैयाँ विनियोजन गरेको छ ।
वडा अध्यक्ष महेश कुमार चौधरीका अनुसार विकासका सबै पक्षलाई समेट्ने उद्देश्यले सन्तुलित योजना बनाइएको हो । ‘सबै क्षेत्रका नागरिकको आवश्यकतालाई समेट्ने गरी योजनाहरू निर्माण गरेका छौँ,’ अध्यक्ष चौधरीले भने । यस किसिमको समावेशी बजेटले रामधुनी–१ लाई सामाजिक, शैक्षिक, आर्थिक र सांस्कृतिक हिसाबले समृद्ध बनाउने अध्यक्ष चौधरीको विश्वास छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)































Discussion about this post