रामधुनी । रामधुनी नगरपालिकाले युवाहरूका लागि निःशुल्क मोटरसाइकल मेकानिक तालिम सञ्चालनमा ल्याएको छ । नगरपालिकाले हिमालयन पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.सँगको सहकार्यमा व्यावसायिक तालिम उपलब्ध गराएको हो ।
कुल २० जनाको लागि खुलाइएको यो तालिम ३९० घण्टा अर्थात तीन महिना सञ्चालन हुने र हाल सञ्चालनमा रहेको रोजगार शाखाले जनाएको छ । दलित तथा पिछडिएको वर्गलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।साथै, तालिम अवधिभर सहभागीहरूलाई सहयोगस्वरूप खाजाकोसमेत व्यवस्था गरिएको छ ।
तालिमले स्थानीय युवाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउन र रोजगारीको अवसर बढाउन महत्वपूर्ण योगदान दिने रोजगार शाखा प्रमुख खगेन्द्र सुब्बा फोम्बोहांगले बताए ।
त्यस्तै, नगरपालिकाले रोजगारीको अवसर सिर्जना र युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित व्यवसायिक कुक तालिमसमेत सञ्चालन गर्दै आएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २० जना युवालाई निःशुल्क तालिम दिएको नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा थप २० जनालाई कुक तालिम दिइरहेको छ ।
नगरपालिकाले नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानबाट सञ्चालित नरबहादुर कर्मचार्य बहुप्राविधिक शिक्षालय इटहरीसँगको सहकार्यमा तालिम सञ्चालन गरिरहेको छ । प्रमुख फोम्बोहांगका अनुसार विदेश जान चाहने, स्वदेशमै स्वरोजगार हुने वा होटल व्यवसायमा भविष्य देखेका युवालाई लक्षित गरेर तालिम दिइएको हो । यसले युवामा आत्मनिर्भर बन्ने बाटो देखाएको उनले बताए ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post