रामधुनी । रामधुनी नगरपालिका–३ मा बसोबास गर्दै आएका ५ सय ६० जना भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा (अस्थायी पुर्जा) वितरण गरिएको छ ।
मंगलबार वडा कार्यालयमा आयोजित कार्यक्रममा भूमि समस्या समाधान आयोग सुनसरीका विज्ञ सदस्य शैलेन्द्र राईको उपस्थितिमा वडा कार्यालयले निस्सा वितरण गरेको हो । यो निस्सा वितरण लालपुर्जा वितरणको आधार तय गर्ने पहिलो कदमको भएको वडा अध्यक्ष बुधनारायण चौधरीले बताए ।
वडा सचिव मुना पोख्रेलका अनुसार, निस्सा पाउनेहरूमध्ये ९० जना भूमिहीन दलित, १ सय ७० जना सुकुम्बासी र ३ सय जना अव्यवस्थित बसोबासी छन् ।
वडा अध्यक्ष चौधरीले भूमिहीनहरूका लागि कानुनी रूपमा जमिनको हक सुनिश्चित गर्ने प्रक्रियाको सुरुवात भएको बताए । ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सबैलाई निस्सा वितरण गरेका छौँ,’ उनले भने, ‘यसबाट भबिष्यमा लालपुर्जा पाउँने प्रक्रिया अघि बढेको छ ।’
भूमि समस्या समाधान आयोग सुनसरीका विज्ञ सदस्य राईले वडाले सुरु गरेको यो प्रक्रिया प्रमाणिकरण हुँदै आयोगसम्म पुग्ने र त्यसपछि मात्र लालपुर्जा वितरणको अन्तिम चरण सुरु हुने बताए । ‘वडाले प्रक्रिया सुरु गरेको छ । अब यसलाई वडाले प्रमाणिकरण गरेर नगरमा पठाउँछ,’ उनले भने, ‘नगरपालिकाले प्रमाणिकरण गरिसकेपछि बल्ल हामीले नापनक्सा गरेर पुर्जा वितरण गर्ने काम गर्छौँ ।’

































Discussion about this post