रामधुनी । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षको आरम्भका रूपमा मनाउने माघी पर्व यस वर्ष पनि सुनसरीको रामधुनीको झुम्कामा भव्य रूपमा मनाइने भएको छ । ग्रामथान संरक्षण समिति रामधुनीको आयोजनामा माघ १ र २ गते ‘माघी मेला तथा सांस्कृतिक कार्यक्रम–२०८२’ सञ्चालन हुने भएको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ग्रामथान संरक्षण समिति रामधुनीकी अध्यक्ष सिता थरुनीले माघी पर्वको मौलिक सांस्कृतिक पक्ष संरक्षण गर्दै रामधुनी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन् । माघी केवल पर्व मात्र नभई थारु समुदायको पहिचान, परम्परा र जीवनशैलीसँग जोडिएको संस्कृति भएकाले त्यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको थरुनीले बताइन ।
त्यस्तै, नयाँ पुस्तालाई थारु समुदायको मौलिक पर्व, परम्परा र सांस्कृतिक महत्वबारे जानकारी गराउने तथा परम्परागत संस्कृतिलाई जोगाउन मेला तथा सांस्कृतिक कार्यक्रम आवश्यक रहेको थारु कल्याणकारीणी सभा रामधुनीका अध्यक्ष राजकुमार चौधरीले बताए ।
माघी पर्व थारु समुदायका लागि विशेष महत्वको चाड मानिन्छ । त्यस्तै, खस–आर्य समुदाय लगायत अन्य समुदायले पनि माघे संक्रान्तिलाई महत्वपूर्ण चाडका रूपमा मनाउँदै आएका छन् ।
आयोजकले मेलामा थारु मौलिक नृत्य, झाँकी, सांस्कृतिक प्रस्तुति, परम्परागत खानाका परिकार तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत हुने जानकारी दिएको छ । कार्यक्रममा थारु कल्याणकारीणी सभा लगायत विभिन्न संघ–संस्थाको सहकार्य रहेको छ ।































Discussion about this post