सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी निर्वाचन नजिकिँदै जाँदा जेनजी (नयाँ पुस्ताका) मतदाताको राजनीतिक सक्रियता बढ्दै गएको देखिएको छ । विशेषगरी रोजगारी, सीप विकास र प्रविधिमैत्री योजनालाई प्राथमिकतामा राख्ने उम्मेदवारतर्फ युवाको ध्यान केन्द्रित हुन थालेको स्थानीय स्तरका गतिविधिले संकेत गरेका छन् ।
नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीप्रति युवाहरूले समर्थन जनाउँदै ‘काम गर्ने नेतृत्व’ आवश्यक भएको धारणा राखेका छन् । बर्जु गाउँपालिका–१ की युवा सिता कुमारी मेहताले आफ्नो परिवार परम्परागत रूपमा अर्काे दलसँग आबद्ध भए पनि आफूले व्यक्तिगत रूपमा उम्मेदवारको काम र दृष्टिकोणका आधारमा भगवतीलाई समर्थन गरेको बताइन् । उनले भनिन्, ‘महिलाका सवालमा आवाज उठाउनुभएको छ, स्थानीय गरिब तथा विपन्नका पक्षमा काम गर्नुभएको कुरा सुनेपछि मलाई उहाँप्रति विश्वास बढ्यो ।’
यस्तै, दुहबी नगरपालिका–८ का केही युवाहरूले समूह नै बनाएर चुनावी गतिविधिमा चासो देखाउन थालेका छन् । रोजगारी र सीपसँग जोडिएका भगवतीका एजेन्डाले आफूहरूलाई आकर्षित गरेको उनीहरूका भनाई छ । ‘हामीलाई भाषणभन्दा परिणाम चाहिएको छ,’ एक युवा सदस्यले भने, ‘प्रविधि सिकाएर घरमै बसेर कमाउन सकिने कुरा उठाइएकाले त्यो हाम्रो पुस्तासँग जोडिएको विषय हो ।’
उम्मेदवार चौधरीले पनि युवालाई लक्षित गर्दै डिजिटल सीप, सूचना प्रविधि तालिम र स्वरोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गर्दै आएकी छन् । उनका अनुसार घोषणा पत्र तयार पार्दा युवासँग निरन्तर छलफल गरिएको छ र ‘डिजिटल सीप, घरमै रोजगारी’ भन्ने अवधारणालाई नीति तहमा लैजाने योजना छ ।
यस क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा भगवती चौधरी निर्वाचित भएकी थिइन् । उनले त्यतिबेला नेपाली कांग्रेसका विजयकुमार गच्छेदारलाई ५ हजार १ सय ८८ मतान्तरले पराजित गरेकी थिइन् ।

































Discussion about this post