इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले इटहरीसहित विभिन्न स्थानका सडकमा ढाट राखेर जबर्जस्ती पार्किङ शुल्क असुलिएको भन्दै प्रतिनिधि सभाको शून्य समयमा प्रश्न उठाएपछि इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले स्पष्टिकरण दिएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मेयर पौडेलले स्थानीय सरकारलाई तथ्यबिना बदनाम नगर्न आग्रह गरेका छन्। उनले नेपालको संविधान र प्रचलित संघीय कानुनअनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र मात्र काम गर्ने अधिकार रहेको उल्लेख गर्दै सवारी पार्किङ शुल्क व्यवस्थापन पनि कानुनी प्रक्रिया पूरा गरी आफ्नो क्षेत्रभित्र मात्रै गर्न सकिने बताएका छन् ।
पौडेलले इटहरी उपमहानगरपालिकाले राष्ट्रिय राजमार्गमा पार्किङ शुल्क उठाउने सम्बन्धी कुनै सूचना प्रकाशित नगरेको र टेन्डर प्रक्रिया पनि राष्ट्रिय राजमार्ग क्षेत्रबाहिरका स्थानका लागि मात्र गरिएको दाबी गरेका छन् ।
उनले सार्वजनिक सडक वा राष्ट्रिय राजमार्गमा कसैले अवैध रूपमा शुल्क असुल गरेको भए त्यसको नियन्त्रण, अनुसन्धान तथा कानुनी कारबाही गर्ने जिम्मेवारी नेपाल सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीको भएको उल्लेख गर्दै तथ्य नबुझी स्थानीय सरकारमाथि निराधार आरोप नलगाउन आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा सांसद भट्टराईले सार्वजनिक सडकमा ढाट राखेर सर्वसाधारणबाट जबर्जस्ती शुल्क असुल्नु गलत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।































Discussion about this post