रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले झुम्कास्थित कृषि बजारका सटरहरुलाई लुगा, जुत्ता र चप्पल जस्ता गैर–कृषि व्यवसायका लागि उपलब्ध गराएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कडा आपत्ति जनाएको छ ।
रास्वपा रामधुनीले एक विज्ञप्ति जारी गर्दै सरकारको लगानीमा किसानहरूका लागि निर्माण गरिएको कृषि बजारमा गैर–कृषि व्यवसाय संचालन गर्न दिएर कृषि बजारको दुरुपयोग गरिएको भन्दै आपत्ति जनाएको हो ।
नगरपालिकाको वडा नं. १ स्थित झुम्का बजार क्षेत्रमा किसानहरूले उत्पादन गरेका कृषि उपज संकलन, प्रदर्शन र बिक्री वितरणका लागि कृषि बजार निर्माण गरिएको थियो । तर, नगरपालिकाले उक्त संरचनालाई यसको मूल उद्देश्यबाहिर गएर अन्य व्यापारिक प्रयोजनमा प्रयोग गर्न दिनू स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्म विपरीत भएको रास्वपाको ठहर छ ।
आन्दोलनको चेतावनी
नगरपालिकाले आफ्नो निर्णय नसच्याएमा र किसानको हकहित विपरीतका कार्य जारी राखेमा चरणवद्ध आन्दोलन, जनदवावका कार्यक्रम र कानुनी पहल गर्ने रास्वपाले स्पष्ट पारेको छ । ‘सार्वजनिक सम्पत्ति कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने माध्यम होइन, यो जनताले अपेक्षा गरेको उद्देश्य अनुसार चल्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाले व्यावसायिक सटरहरू भाडामा लगाउन बोलपत्र आह्वान गरे पनि पछि आफ्नै निर्णयबाट पछि हट्दै ठेक्का स्थगित गरेको सन्दर्भमा रास्वपाले यो खबरदारी गरेको हो । रास्वपा रामधुनी नगर समितिले किसानको सम्मान र विधिको शासनका पक्षमा आफूहरू दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत जनाएको छ ।
यस्ता छन् रास्वपाका चार बुँदे माग
१. कृषि बजारलाई तत्काल कृषि उपजको संकलन, भण्डारण र बिक्री वितरणका लागि मात्रै सञ्चालन गरियोस् ।
२. गैर–कृषि व्यापारका लागि दिइएका स्टलहरू खारेज गरी कृषि व्यवसायीलाई दिइयोस् ।
३. सटर भाडा सम्बन्धि आधार, सम्झौता र राजस्व सम्बन्धी विवरण सार्वजनिक गरी पारदर्शिता कायम गरियोस् ।
४. भविष्यमा सार्वजनिक सम्पत्तिको उपयोग गर्दा सार्वजनिक हितलाई केन्द्रमा राखियोस् ।




































Discussion about this post