सुनसरी । बारामा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले गहिरो दुःख व्यक्त गर्दै न्यायका लागि सशक्त आवाज उठाउनुपर्ने बताएकी छन् ।
घटनाप्रति दुःख व्यक्त गर्दै उपप्रमुख थापाले अबोध बालिकाको जीवन, सपना र भविष्यसँगै परिवारको खुसीमाथि निर्मम प्रहार भएको बताएकी छन् ।
उनले बलात्कारपछि हत्या जस्तो जघन्य अपराधमा समाजको मौनता पनि अपराधीको हौसला बन्न सक्ने भन्दै सहानुभूतिमा मात्र सीमित नभई न्यायका लागि सडकदेखि सदनसम्म आवाज उठाउनुपर्ने बताएकी छन् ।
थापाले घटनाको अनुसन्धान निष्पक्ष र प्रभावकारी हुनुपर्ने तथा दोषी प्रमाणित हुने व्यक्तिलाई कानुनअनुसार कठोर कारबाही गर्नुपर्ने माग गरेकी छन् । कुनै पनि शक्ति वा पहुँचले न्यायलाई प्रभावित गर्न नहुने उनको भनाई छ ।
‘एउटी छोरीमाथि भएको अन्यायलाई चुपचाप हेर्ने छैनौँ । अपराधीको संरक्षण स्वीकार्ने छैनौँ । न्यायको आवाज दबिन दिने छैनौँ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
उनले छोरीको सुरक्षा राज्यको जिम्मेवारीसँगै समाजको पनि जिम्मेवारी भएको उल्लेख गर्दै अब मौनता नभई सशक्त प्रतिरोध र न्यायको आवाज उठ्नुपर्ने बताएकी छन् ।
थापाले मृत बालिका गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमाको शव जितपुरसिमरा–१ स्थित खाली घरको एउटा कोठामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार बालिकाको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।































Discussion about this post