रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले नगरभित्रका ९ वटा सामुदायिक माध्यमिक विद्यालयमा स्थायी प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ ।
नगर कार्यपालिकाको २०८३ भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार नगरपालिकाले बिहीबार सूचना जारी गर्दै प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको हो ।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम योग्यता पुगेका सम्बन्धित विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूबाट आवेदन माग गरिएको नगरपालिकाले जनाएको छ । पहिलो चरणअन्तर्गत माध्यमिक तह सञ्चालन भएका विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो । इच्छुक तथा योग्य शिक्षकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विद्यालय विकास प्रस्तावसहित आवश्यक कागजात सम्बन्धित विद्यालयको व्यवस्थापन समिति वा विद्यालय प्रशासनसमक्ष पेस गर्नुपर्नेछ ।
नगरपालिकाका अनुसार रामधुनी–१ स्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालय, रामधुनी–२ को शिवनगर माध्यमिक विद्यालय, रामधुनी–३ को जनता माध्यमिक विद्यालय र पञ्चायत माध्यमिक विद्यालय तथा रामधुनी–४ को रामधुनी माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि आवेदन माग गरिएको छ ।
त्यस्तै, रामधुनी–७ स्थित पञ्चायत माध्यमिक विद्यालय (कुमरखत) र पञ्चायत माध्यमिक विद्यालय (चौँसट्ठीविगाह) तथा रामधुनी–९ का शनिश्चरे माध्यमिक विद्यालय र चन्द्रकमल माध्यमिक विद्यालयमा पनि नयाँ प्रधानाध्यापक नियुक्त गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले प्रधानाध्यापक नियुक्ति प्रतिस्पर्धात्मक प्रक्रियाबाट गर्ने तयारी गरेको हो ।



































Discussion about this post