रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीका छोरा तथा इन्जिनियर देवेन्द्र नारायण चौधरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।
विशेष अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले असार ३० गते चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको हो ।
अदालतका अनुसार चौधरीले रामधुनी नगरपालिकामा इन्जिनियर पदमा नियुक्तिका लागि पेस गरेको उच्च माध्यमिक तह (प्लस टु) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ । सरकारी सेवामा प्रवेश गरी लाभ लिन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी पेस गरेको निष्कर्ष अदालतले निकालेको छ ।
यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । अदालतले झुटा शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिने कार्य भ्रष्टाचार निवारण ऐनअन्तर्गतको कसुर ठहर गर्दै कैद र जरिबानाको सजाय सुनाएको हो ।
विशेष अदालतको उक्त फैसलाविरुद्ध चौधरीले कानुनबमोजिम सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था छ ।



































Discussion about this post