रामधुनी । सुनसरीको रामधुनी नगरपालिका झुम्कास्थित भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसले विद्यार्थीहरूको यातायात सुविधालाई थप सहज बनाउन नयाँ बस खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । क्याम्पसले ‘क्याटलग सपिङ’ विधिमार्फत एउटा नयाँ बस खरिद गर्नका लागि प्रस्ताव आह्वान गर्दै आज सार्वजनिक सूचना जारी गरेको हो ।
क्याम्पसलाई बस खरिदका लागि नगरपालिकाले बजेट उपलब्ध गराएको हो । नगरपालिकाको सहयोगमा बस प्राप्त हुने भएपछि क्याम्पसमा अध्ययनका लागि आउने विद्यार्थीहरू लाभान्वित हुने देखिएको छ ।
क्याम्पसले सूचनामार्फत ३२ सिट क्षमता (३१+चालक) भएको, २०२५ मोडलको र नेपालको भौगोलिक उचाइ (२५०० मिटरसम्म) मा चल्न सक्ने क्षमताको बस खरिद गर्ने लक्ष्य राखेको छ । इच्छुक उत्पादक वा आधिकारिक विक्रेताहरूलाई सूचना प्रकाशित भएको ७ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेस गर्न आह्वान गरिएको छ ।
क्याम्पस प्रमुख श्याम कुमार चौधरीले बस खरिद प्रक्रियाका बारेमा जानकारी दिँदै नगरपालिकाको यो सहयोग क्याम्पसका लागि कोशेढुङ्गा सावित हुने बताए । उनले भने, ‘हाम्रो क्याम्पसमा तुलनात्मक रुपमा टाढाबाट आउने विद्यार्थीहरूको संख्या उल्लेख्य छ, जसलाई यातायातको ठूलो समस्या थियो । नगरपालिकाले बस खरिदका लागि बजेट दिएर विद्यार्थीहरूको त्यो समस्या हल गरिदिएको छ । हामीले चाँडै नै गुणस्तरीय बस ल्याएर विद्यार्थीहरूलाई सेवा दिनेगरी टेन्डर खुलाएका छौँ ।’



































Discussion about this post