इटहरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने’ सार्वजनिक अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनभित्र नयाँ राजनीतिक बहस सुरु भएको छ ।
सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा शुक्रबार आयोजित एक कार्यक्रममा शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गर्दै नेतृत्व परिवर्तन धेरै टाढाको विषय नरहेको संकेत गरेका हुन् । उनले विस्तृत रूपमा खुलाउन नचाहे पनि गठबन्धनभित्र नेतृत्व हस्तान्तरणबारे गम्भीर छलफल भइरहेको सन्देश दिएका छन् ।
हाल कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस चार मन्त्रालयसहित सहभागी छ मुख्यमन्त्री भने नेपाल कम्युनिष्ट पार्टी -एमाले) का हिकमत कार्की छन् । केन्द्रदेखि प्रदेशसम्म आलोपालो नेतृत्वको सहमतिमा गठबन्धन सञ्चालन भइरहेका बेला कोशीमा भने नेतृत्व परिवर्तनको विषय पेचिलो बन्दै गएको छ ।
कांग्रेस स्रोतका अनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे छलफल अघि बढाउन शर्मालाई नै जिम्मेवारी दिइएको थियो । त्यसक्रममा उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग पटक–पटक संवाद गरिसकेको बताइन्छ ।
अन्य प्रदेशमा सत्ता समीकरण मिलाउन तुलनात्मक रूपमा सहज देखिए पनि कोशीमा दुवै दल मुख्यमन्त्री पद नछाड्ने अडानमा रहँदा सहमति जुट्न सकेको छैन । एमाले अध्यक्ष ओलीले आफ्नो गृहप्रदेश भएकाले नेतृत्व निरन्तरता चाहेको चर्चा चलिरहेका बेला शर्माको सार्वजनिक अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


































Discussion about this post