रामधुनी । जातीय विविधता र सांस्कृतिक पहिचानको संरक्षणमा जोड दिँदै रामधुनी नगरपालिका वडा नं. ८ मा उराव जातिको विशेषता झल्काउने निर्माण कार्य अघि बढाइएको छ । रामधुनी–८ को बानडाँडामा तीन कोठे एकतले संरचना निर्माण भइरहेको छ । जसमा उराव समुदायको परम्परागत जीवनशैली, सांस्कृतिक सम्पदा र पहिचानका सामग्रीहरू संग्रहित गरिने नगरपालिकाले जनाएको छ ।
प्याब्सन बस्तीको पछाडि रहेको स्थानमा निर्माण भइरहेको उक्त संग्राहालयका लागि प्रदेश सरकार, रामधुनी नगरपालिका र वडा कार्यालयको संयुक्त लगानी रहेको छ । नगरपालिकाले चालु आर्थिक बर्षमा मात्रै ५ लाख रुपैयाँ विनियोजन गरेर खर्च गरिसकेको छ ।
संग्राहालयमा उराव समुदायले प्रयोग गर्दै आएका परम्परागत भाँडाकुँडा, लुगा, कृषि औजार, धार्मिक तथा सांस्कृतिक सामग्रीहरू राखिनेछ । यसले उराव जातिको सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै जरा चिन्न प्रेरणा दिने रामधुनी–८ का वडाअध्यक्ष सुरेन्द्र सिंह खवासले बताए ।
सांस्कृतिक र जातीय पहिचानको जगेर्नाका लागि यसप्रकारका पहलहरू नगरपालिकाको गर्दै आएको छ । रामधुनी—२ मा यसअघि नै थारु संग्राहालयसमेत निर्माण गरिएको छ । विद्यार्थी, अनुसन्धानकर्ता र सांस्कृतिक पर्यटकका लागि यो एक अध्ययन केन्द्रको रूपमा स्थापित हुने अपेक्षा गरिएको नगरपालिकाकी उपप्रमुख तारा थापाले बताइन ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)




































Discussion about this post