इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट मदन भण्डारी स्मारक संरक्षक समाजले ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा वैचारिक कार्यशाला आयोजना गरेको छ ।
‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपाय’ विषयक कार्यशालामा एमालेसँग आबद्ध नेता–कार्यकर्ता, वाम बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यशालामा सुबोधराज प्याकुरेलले कार्यपत्र प्रस्तुत गर्दै वाम आन्दोलनभित्र देखिएका नीतिगत, संगठनात्मक र कार्यशैलीगत संकटबारे विश्लेषण गरेका थिए । उनले अनुभव, इतिहास र कार्यदक्षताको समायोजनबाट मात्रै भविष्यको बलियो वाम शक्ति निर्माण सम्भव हुने धारणा राखे ।
कार्यपत्रमाथि टिप्पणी गर्दै दिवाकर रेग्मीले कम्युनिस्ट आन्दोलन निरन्तर आत्मसुधारको आन्दोलन भएकाले जनतामुखी ढंगले अघि बढ्नुपर्ने बताए । यस्तै, गणेश प्रसाद दाहालले पार्टी सञ्चालन विधि र पद्धतिमा आधारित हुनुपर्ने तथा आन्दोलन निर्माणमा बुद्धिजीवीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य भगवती चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री राम प्रसाद मेहेता, प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र निरा खनाल, इनरुवा नगरपालिकाका पूर्वमेयर खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी कोशी प्रदेश कमिटी सदस्यहरू शुशिला पहाडी, अजय कुशीयैत, राज कुमार दंगाल तथा लोकेश निरौलासहित जिल्ला र नगर तहका नेता–कार्यकर्ताको सहभागिता थियो ।
प्रमुख अतिथि चौधरीले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदान स्मरण गर्दै सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढे एमाले पुनः देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्ने बताइन् । उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर संगठन सुदृढ बनाउन आग्रह गरिन् । युवा नेता निरौलाले गत फागुन २१ को आमनिर्वाचनको परिणामपछि निराश बनेका वाम कार्यकर्तामा कार्यक्रमले नयाँ उत्साह थपेको बताए ।
कार्यक्रमको अध्यक्षता मदन भण्डारी स्मारक संरक्षक समाजका अध्यक्ष सरोज बरालले गरेका थिए ।


































Discussion about this post