रामधुनी । नेकपा एमाले रामधुनी नगर कमिटीका अध्यक्ष योगेन्द्र खड्कासहित चार जना पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । पार्टीको जिल्ला कमिटी सुनसरीले विधानविपरीत एकलौटी निर्णय गरेको, नगर कमिटीको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको र नेतृत्वमा स्वेच्छाचारी एवम् निरंकुश प्रवृत्ति देखाएको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।
अध्यक्ष खड्कासहित उपाध्यक्ष खेमराज पौडेल, सचिव रेवतराम गुरुङ्ग र उपसचिव भगवती खड्का दाहालले संयुक्त हस्ताक्षर गर्दै जिल्ला कमिटी सुनसरीका अध्यक्ष पर्शुराम यादवलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका छन् ।
राजीनामा पत्रमा पार्टीको माथिल्लो कमिटीप्रति गम्भीर असन्तुष्टि पोखिएको छ । रामधुनी भूगोलको विषयमा कुनै पनि निर्णय गर्दा नगर कमिटीसँग समन्वय र सल्लाह नगरिएको उनीहरूको गुनासो छ । नगर कमिटीलाई कार्यकारी अधिकारबाट वञ्चित गर्दै पार्टीको जिल्ला नेतृत्व विधानभन्दा माथि रही मनलाग्दी ढंगले चलेको आरोप राजीनामा पत्रमा लगाइएको छ ।
राजीनामा दिने पदाधिकारीहरूले नगर कमिटीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै उक्त पत्रको बोधार्थ एमाले कोशी प्रदेश कमिटी, सुनसरी जिल्ला इन्चार्ज जगदीश प्रसाद कुसियैत र रामधुनी नगर इन्चार्ज राजकुमार गिरीलाई समेत दिएका छन् ।


































Discussion about this post