रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले नगर क्षेत्रका विभिन्न व्यावसायिक सटरहरू भाडामा लगाउन बोलपत्र आह्वान गरेको छ । नगरपालिकाले वडा नं. १ स्थित झुम्का बजार क्षेत्रका ४४ ओटा र वडा नं. ८ का १० ओटा सटरहरूका लागि आज सूचना जारी गर्दै शिलबन्दी दरभाउपत्र माग गरेको हो ।
नगरपालिकाले आन्तरिक आय वृद्धि गर्ने र स्थानीय व्यवसायीलाई अवसर दिने उद्देश्यले यो प्रक्रिया अघि बढाएको जनाएको छ । नगरपालिकाकाअनुसार कृषि सम्बन्धी पसल वा व्यवसाय सञ्चालन गर्न पेस गरिएका दरभाउपत्रलाई पहिलो प्राथमिकता दिइनेछ ।
कृषि व्यवसायका लागि तोकिएको न्यूनतम वार्षिक भाडा दर अन्य व्यवसायको तुलनामा कम र सहुलियतपूर्ण रहेको छ । वडा नं. १ का सुरुवाती सटरहरूको वार्षिक न्यूनतम भाडा कृषि व्यवसायका लागि ५२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने सोही सटरमा अन्य व्यवसाय सञ्चालन गर्न चाहेमा न्यूनतम ६४ हजार ८ सय रुपैयाँ कबोल गर्नुपर्नेछ ।
यस प्रतिस्पर्धामा सहभागी हुन चाहने फर्म वा कम्पनी अनिवार्य रूपमा नगरपालिकामा दर्ता भएको हुनुपर्ने र आर्थिक वर्ष २०८२÷८३ सम्मको कर चुक्ता गरेको हुनुपर्ने प्रावधान राखिएको छ । साथै, विगतमा नगरपालिकालाई बुझाउनुपर्ने कुनै पनि भाडा बक्यौता रहेका व्यक्ति वा फर्मले यस प्रक्रियामा भाग लिन पाउने छैनन् ।
इच्छुक व्यवसायीहरूले १ हजार रुपैयाँ दस्तुर तिरेर असार २३ गतेसम्म दरभाउपत्र फारम खरिद गर्न सक्नेछन् भने असार २४ गते दिउँसो १२ बजेसम्ममा कार्यालयमा रीतपूर्वक बुझाइसक्नुपर्नेछ ।
नगरपालिकाका अनुसार यो सम्झौता आगामी ५ वर्षका लागि अर्थात् २०८३ साउन १ गतेदेखि २०८८ असार मसान्तसम्मका लागि लागू हुनेछ । सम्झौता भएपछि प्रत्येक वर्ष भाडा रकममा १० प्रतिशतका दरले वृद्धि हुने व्यवस्था गरिएको छ ।
आवेदनका साथमा वार्षिक न्यूनतम भाडाको १० प्रतिशत रकम धरौटी बापत एनआईसी एसिया बैंकमा रहेको नगरपालिकाको खातामा जम्मा गर्नुपर्नेछ । सबैभन्दा बढी दररेट कबोल गर्ने र मापदण्ड पुगेका व्यवसायीहरूसँग सात दिनभित्र सम्झौता गरिने प्रमुख प्रशासकीय अधिकृत तेज नारायण यादवले बताए ।



































Discussion about this post