रामधुनी । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डसँग जोडेर आफूलाई कारबाही सिफारिस गरिएको भन्दै भइरहेको प्रचारप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालबिक्रम थापाले गम्भीर आपत्ति जनाएका छन् । आधिकारिक प्रतिवेदन सार्वजनिक नै नभएको अवस्थामा आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गरिएको उनको दाबी छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले आफू अपराधी नभएको र घटनामा संलग्न अपराधीलाई कानुनी कठघरामा उभ्याउन लागिपरेको बताएका छन् । ‘आमा ! म अपराधी होइन । अपराधीलाई कानूनको कठघरामा उभ्याउने तपाईंको बहादुर छोरो हुँ,’ उनले लेखेका छन् ।
यस्तो प्रचारलाई थापाले ‘झुटो, आधारहीन र योजनाबद्ध’ भनेका छन् । उनले सुनसरी–४ का सांसद दीपक शाह र उनको सचिवालयसँग सम्बद्ध केही कर्मचारीमाथि सरकारी प्रतिवेदनको नाम दुरुपयोग गरी आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गराएको आरोप लगाएका छन् । सरकारी प्रतिवेदनका रूपमा प्रचार गरिएको सामग्री आफैं चार पाना तयार पारेर सार्वजनिक गरिएको उनको दाबी छ ।
‘सुनसरी क्षेत्र नं. ४ का सांसद दीपक शाह र उहाँको सचिवालयसँग सम्बद्ध केही कर्मचारीहरू मिलेर सरकारी प्रतिवेदनको नाम दुरुपयोग गर्दै आफैं चार पाना लेखेर मेरो नाम जोडेर भ्रमपूर्ण प्रचार गराउनु अत्यन्तै गम्भीर र निन्दनीय विषय हो,’ थापाले भनेका छन् ।
आफूमाथि विगतमा पनि पटक–पटक यस्ता आक्रमण भएको उल्लेख गर्दै थापाले यस्ता प्रचारले कमजोर मन भएका व्यक्तिलाई असर पार्न सक्ने भन्दै संवेदनशील हुन आग्रह गरेका छन् ।
उनले आफूविरुद्ध झुटा तथा भ्रामक सूचना उत्पादन र प्रचारमा संलग्न व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम कानुनी उपचार अघि बढाउने चेतावनीसमेत दिएका छन् । ‘सत्यलाई केही समय भ्रमले ढाक्न सकिएला, पराजित गर्न सकिँदैन । कानूनको कठघरामा सत्य र असत्यबीचको फैसला अवश्य हुनेछ,’ उनले स्टाटसमा भनेका छन् ।
देवानगञ्ज गोलीकाण्डपछि घटनाको अनुसन्धान, दोषीमाथि कारबाही तथा घटनासँग सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे विभिन्न दाबी सार्वजनिक भइरहेका बेला सांसद थापाको पछिल्लो धारणा आएको हो । थापाले आफूलाई घटनासँग जोडेर भइरहेको प्रचार तथ्यहीन रहेको दाबी गर्दै कानुनी प्रक्रियामार्फत त्यसको प्रतिवाद गर्ने बताएका छन् ।



































Discussion about this post