रामधुनी । थारु कल्याणकारीणि सभा सुनसरी जिल्लाको आसन्न मंसिर ३० गते हुने अधिवेशनका लागि प्रतिनिधि छनोटमा पनपरी गरिएको भन्दै बिरोध सुरु भएको छ ।
आसन्न अधिवेशनका लागि जिल्ला अध्यक्ष पदका ३ जना उम्मेदवारहरुले हिजो साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै विधान विपरीत, बैठकसमेत नबिसी मनोमानी ढंगले प्रतिनिधि छनोट गरिएको आरोप लगाएका हुन् ।
भावी अध्यक्ष पदका उम्मेदवारहरु जानकी चौधरी, तारा कुमारी चौधरी, देवेन्द्र चौधरी लगायतले पत्रकार सम्मेलन आयोजना गरेर बिषेश गरि इनरुवा र रामधुनी नगरपालिका प्रतिनिधि छनोट आपत्ति जनाएका छन् ।
‘मनोमानी रुपमा तानाशाही प्रबृति गरी साबिक गाबिसबाट प्रतिनिधि नलिई एकै घर परिवारको दाजुभाई नातेदार व्यक्तिलाई जिल्ला प्रतिनिधि तोकी पठाएको’ पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ ।
रामधुनी र इनरुवा नगरपालिकाबाट छनौट भएका प्रतिनिधिहरु नगर अध्यक्षले मनोमानी ढंगले पठाएकोले छानविन गरी विधानको आचारसंहिता विपरित कार्य गर्नेलाई निलम्बनगरि विधान ऐन अनुसार अधिवेशन गर्नसमेत माग गरिएको छ ।
संस्थाको भवनसमेत नटेकेका र सदस्यता रसिदसमेत नकाटेका व्यक्तिहरु प्रतिनिधि बनाएर पठाइएको थाकस जिल्ला उपाध्यक्षसमेत रहेकी भावी अध्यक्ष पदकी उम्मेदवार जानकी चौधरीको आरोप छ ।
थारु अधिकारका सवालमा केहि नबुझेका असक्षम प्रतिनिधि छनौट गरिएकाले त्यस्ता प्रतिनिधि खारेज हुनुपर्ने जिल्ला कोषाध्यक्ष तारा चौधरीले बताइन ।
पत्रकार सम्मेलनमा थाकस पुर्व केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरी, थारु महिला सभा सुनसरी अध्यक्ष सुशिला लेखी, थारु महिला सभा सुनसरी पूर्व अध्यक्ष सुशिला चौधरी, थारु महिला सभा रामधुनी नगर सभापति लिली चौधरी, इनरुवा वडा नं. ६ मधेशा थाकस वडा सभापति राजाराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।