रामधुनी । रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले निर्माणाधीन झुम्का खानेपानी आयोजनाको निरीक्षण गरेका छन् । उनले आइतबार झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको कार्यालयमा पुगेर आयोजनाको निरीक्षण गरेका हुन् ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सहरी खानेपानी तथा सरसफाई आयोजना, नगर विकास कोष, रामधुनी नगरपालिका र झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिबीच भएको सम्झौता अनुसार करिब ३६ करोड लागतमा झुम्कामा खानेपानी आयोजनाको काम सञ्चालित छ ।
गत पुससम्ममा आयोजनाको सम्पुर्ण काम सक्नुपर्ने सम्झौता भए पनि समयमा काम सम्पन्न नभएपछि ६ महिनाका लागि म्याद थप गरिएको थियो । म्याद थप गरिएको समय करिब ३५ दिन मात्रै बाँकी भए पनि आयोजनाको काम अझै २८ प्रतिशत बाँकी छ । यसरी हेर्दा थपिएको म्यादमासमेत काम सम्पन्न नहुने लगभग निश्चित छ ।
काममा ढिलाई भएपछि मेयर चौधरीले ठेक्दार कम्पनी शर्मा भिमेश्वर जेभीका प्रतिनिधि इन्जिनियर हेमन्त मण्डललाई भेटेर ‘जसरी भए पनि छिटो काम सक्न’ भनेका छन् । चौधरीले भने, ‘कमजोरीलाई कहाँ लगेर राख्ने हो राख्ने, मेनपावर थप्नुपर्दा थप्ने, काम अगाडि बढेन भनेर उल्टै खानेपानीले हामीलाई जानकारी गराएको छ । जसरी भए पनि काम छिटो सक्नुहोस् ।’ जवाफमा ठेक्दार कम्पनीका प्रतिनिधि इन्जिनियर मण्डलले काम निरन्तर अगाडि बढिरहेको भए पनि केहि ढिलाई भएको स्वीकारे ।
यता झुम्का खानेपानीका अध्यक्ष केशिलाल चौधरी आफुले निरन्तर ठेक्दार पक्षलाई काम छिटो सम्पन्न गर्न दवाव दिइरहेको बताउछन् ।