सुनसरी । रामधुनी नगरपालिकाले युवाहरुलाई आत्मनिर्भर बनाउँन निःशुल्क सीपमूलक र रोजगारमूलक तालिम दिने भएको छ । निश्चित सीप र अनुभवको अभावमा बेरोजगार भएर बस्न बाध्य युवाहरुलाई लक्षित गरेर नगरपालिकाले तालिम दिन लागेको हो ।
तालिममा १६ बर्षदेखि ४० बर्षसम्मका साधारण लेखपढ गर्नसक्ने युवाहरुले सहभागी हुन पाउँनेछन् । सहभागिताका लागि इच्छुक युवाहरुले फागुन १५ गतेभित्र नगरपालिकामा निवेदन दिनुपर्नेछ । जस अन्तर्गत २० जनालाई व्यवसायिक साना सवारीसाधन मेकानिक र २० जनालाई व्यवसायिक कुक तालिम दिइने छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) को मापदण्ड अनुसार दुवै तालिम १६०० घण्टासम्म सञ्चालन गरिने रोजगार शाखा प्रमुख खगेन्द्र सुब्बा फोम्बोहांगले बताए ।
सीप नहुँदा बेरोजगार बस्नुपर्ने युवाहरुको परिस्थिति हेरेर सीपमूलक तालिमका माध्यमबाट युवाहरुलाई आत्मनिर्भर बनाउँने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको नगर प्रमुख शंकरलाल चौधरीले बताए । भबिष्यमा पनि सीपमूलक तालिमका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको उनको भनाई छ ।