रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा रहेको झुम्का कारागारका एक कैदीले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार दिउँसो करिब पौने ४ बजे सुनसरीको वर्जु गाउँपालिकाका–५ का ३५ बर्षीय कैदी प्रदिप यादवले गम्छाको पासो लगाएर शौचालयको भेन्टिलेसनमा आत्महत्या गरेको कारागार प्रशासनका निमित्त प्रमुख राम निरौलाले बताए ।
घटनापछि सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिना लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु कारागार पुगेका थिए । निमित्त कार्यालय प्रमुख निरौलाले भने, ‘शनिबार करिब ३ः४० बजे जत्तिको समयमा घटना भएको हो । घटनापछि प्रमुख जिल्ला अधिकारी ज्यू, एसपी सावसहितको उपस्थितिमा हामीले परिवारका सदस्यहरु र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी बोलाएर मुचुल्का गरी राती नै पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएका छौँ ।’
कारागार प्रशासनका अनुसार कर्तव्य ज्यान मुद्धामा सुनसरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका यादव २०७६ भाद्र १ गतेदेखि झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको पोष्टमार्टम भइरहेको र रिपोर्ट आउँन केहि दिन लाग्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक दिनेश अधिकारीले जानकारी दिए ।