रामधुनी । सुनसरीमा ६८ औं सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघले रामधुनी नगरपालिका–५ झुम्कामा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरी उत्साहका साथ यो दिवस मनाएको हो ।
यो बर्ष सहकारी दिवसको मुल नारा ‘मर्यादित सहकारीः समुन्नत समाज’ रहेको थियो । कार्यक्रममा सहभागीहरूले सहकार्य, पारदर्शिता र आत्मनिर्भरता अभिवृद्धि गर्दै सहकारीलाई समुन्नत समाज निर्माणको आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशका प्रमुख हरिबहादुर खत्रीले सहकारीमा नैतिकता, पारदर्शिता, कानुनको पालना गर्नुपर्ने कुरामा जोड दिए । हरेक मान्छे स्वाबलम्बी र एकअर्काप्रति सहयोगी भएमा समाज ‘रामराज्य’ जस्तै हुने उनले बताए ।पुँजीवादको नियन्त्रणबाट समाज अलग गर्दै बजारलाई समाजको अधिनस्त राख्न सहकारीको भूमिका महत्वपूर्ण हुने खत्रीले बताए । उनले भने, ‘सहकारीले बजारलाई समाजको अधिनस्त राख्ने प्रयत्न गर्दछ । जबकी बजारवादले, पुँजीवादले बजारले नै समाजलाई नियन्त्रण गर्दछ भनेर बजारवादमा विश्वास गर्दछ । हाम्रो कल्पना त्यस्तो होइन । सहकारीकर्मी हुनु भनेको आफुमात्रै नाफा खानु होइन ।’

त्यस्तै कार्यक्रममा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले सहकारीहरूले गाउँघरमा वित्तीय सेवा उपलब्ध गराउने हुँदा ठूला बैंक तथा विभिन्न वित्तीय संस्थाले दिन नसकेको सेवा सहकारीले दिनसक्ने बताइन । नेपाल सरकारले नै तीनखम्बे अर्थनीति अन्तर्गत निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीलाई राखेर आर्थिक विकासको मुख्य आधारका रूपमा अंगीकार गरेकाले सहकारीको महत्व धेरै रहेको उनको भनाई थियो ।
त्यस्तै, सहकारीको मर्म, शिद्धान्त, मूल्य, मान्यता, ऐन, कानुनको पालना गरेर मर्यादीत ढंगले सञ्चालन गर्न सके सहकारीमा समस्या सिर्जना हुन नसक्ने जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहालले बताए ।
कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी, सहकारी शाखा प्रमुख सुमन पौडेल, जिल्ला सहकारी संघका सल्लाहकार सोम श्रेष्ठ, अर्का सल्लाहकार शिव कुमार डाँगीलगायतको उपस्थिति रहेको थियो ।































Discussion about this post