रामधुनी । रामधुनी नगरपालिका वडा नं. ८ र शुभ युग मिडिया प्रा.लि.को सहकार्यमा आयोजित उद्घोषण तथा निर्णय लेखन तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । तालिम दुई चरणमा सञ्चालन गरिएको थियो ।
गत चैत २३ र २४ गते टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई लक्षित गरी उद्घोषण तथा निर्णय लेखन तालिम सञ्चालन गरिएको थियो । जसमा करिब ४० जना सहभागी थिए । तालिममा उद्घोषणको प्रविधि, भाषिक संयोजन, निर्णय लेखनको औपचारिक शैली तथा सार्वजनिक अभिव्यक्तिका विविध पक्षमा व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी, हिजो (चैत २५ गते) आदिवासी जनजाति समुदायका व्यक्तिहरुलाई लक्षित गर्दै अर्को उद्घोषण तालिम सम्पन्न गरिएको छ । उक्त तालिममा पनि करिब ३२ जना सहभागी रहेका थिए । तालिमले समुदायमा उद्घोषण क्षमताको अभिवृद्धि गर्दै सामाजिक जागरणमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकको छ ।
टोल बिकास संस्थाका पदाधिकारीहरुलाई मेघराज न्यौपानेले प्रशिक्षण गरेका थिए भने आदिवासी जनजाती समुदायका व्यक्तिहरुलाई द्वारिकाप्रसाद घिमिरेले प्रशिक्षण दिएका थिए । स्थानीयस्तरमा प्रभावकारी उद्घोषक उत्पादन गर्न तथा आदिवासी जनजाति समुदायका सदस्यहरूलाई उद्घोषण कलामा सशक्त बनाउँदै उनीहरूलाई नेतृत्व भूमिकामा प्रोत्साहन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष सुरेन्द्र सिंह खवासले बताए । सहभागीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।