सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का छ घर सुकुम्बासी परिवारहरूले आफ्नो नाममा जग्गा प्रमाणपत्र (धनीपुर्जा) पाएका छन् । भूमि समस्या समाधान आयोग सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा आयोजित एक कार्यक्रमका बीच बुधबार ६ जनालाई आयोगले पुर्जा वितरण गरेको आयोगका विज्ञ सदस्य शैलेन्द्र राईले बताए ।
आयोग बनेपछि कोशी प्रदेशमा पहिलोपटक पुर्जा वितरण गरिएको भन्दै आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले स्थानीय तहसँगको सहकार्यमा भबिष्यमा सुकुम्बासी समस्या समाधानका लागि गम्भीर भएर काम गर्ने बताए ।
लामो समयदेखि आफ्नै स्वामित्वको जमिनको अभावमा कष्टकर जीवन निर्वाह गरिरहेका भूमिहीन परिवारहरूले लालपुर्जा पाएसँगै स्थायीत्वको अनुभूति गरेका छन् । सुनसरीमा मात्रै ४१ हजारबढी परिवारले लालपुर्जा माग गर्दै भूमि आयोगमा निवेदन दिएका छन् । विभिन्न समयमा आयोगले मागेको आवेदनका आधारमा स्थानीय तहहरुले भूमिहीनको तथ्याकं संकलन गरेर आयोगलाई बुझाएका थिए । सोहि तथ्यांकका आधारमा सुनसरीमा धनीपुर्जाविहीनहरुको संख्या ४१ हजार ३४ रहेको पाइएको छ । आयोगका अनुसार धरान उपमहानगरपालिका सबैभन्दा धेरै १३ हजार ३ सय २८ परिवार धनीपुर्जाविहीन रहेका छन् । तर जिल्लाभर ६ जनाले मात्रै पुर्जा पाउँन सफल भएका छन् ।
आयोगका आफ्नै सीमा हुने भएकाले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन त्यति सहज नहुने गरेको आयोग सुनसरीका विज्ञ सदस्य राईले बताए । अधिकांश सुकुम्बासीहरुको बसोबास जोखिमयुक्त स्थान, नदी किनार, बन क्षेत्रको जग्गा, नहरको डिल, खोलाको डिल तथा सडक सीमाभित्रका जग्गामा हुने गरेकाले कानुनी रुपमा त्यस्तो जमिनमा धनीपुर्जा दिन नमिल्ने भएकाले समस्या भएको राईको भनाई छ । उनले भने, ‘पुर्जा दिन निश्चित मापदण्ड तोकिएको छ । त्यसो हुँदा पुर्जा दिन सकिन्छ । तर कानुन विपरीत पुर्जा दिने कुरा भएन । त्यसैले समस्या भएको हो ।’