रामधुनी । रामधुनी नगरपालिकाले झुम्का बजार क्षेत्रमा विभिन्न १५ ओटा सिसी क्यामेरा जडान गरेको छ ।
करिब ९ लाख ४० हजार रुपैयाँ लागतमा शिवचोकदेखि बिजुली अफिस आसपाससम्म क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सरोज कोइरालाले जानकारी दिए ।
आज प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीमा आयोजित कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरीले क्यामेरा प्रणालीको औपचारिक शुभारम्भ गर्दै यसको जिम्मेवारी इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेकोसमेत उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले व्यवस्थित र सुरक्षित बजार निर्माण गर्ने लक्ष्यका साथ क्यामेरा जडान गरिएको बताए । ‘अपराध नियन्त्रण र शंकास्पद गतिविधिको निगरानीका लागि क्यामेरा प्रभावकारी माध्यम बन्ने विश्वास लिएका छौँ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय तहले सुरक्षाजस्तो संवेदनशील विषयमा चासो देखाउँदै प्रविधिमैत्री कदम चाल्नु सकारात्मक भएको बताए । ‘सुरक्षा संघीय सरकारको मात्रै दायित्व होइन, स्थानीय तहको पनि साझा जिम्मेवारी हो भन्ने सन्देश नगरपालिकाको यो कदमले दिएको छ,’ उनले भने ।
नगरपालिकाले बजार क्षेत्रमा बढ्दो भीडभाड, सवारी चाप र सम्भावित आपराधिक गतिविधिलाई मध्यनजर गर्दै क्यामेरा जडान गरेको जनाएको छ । जडान गरिएका सबै क्यामेराको नियन्त्रण कक्ष इलाका प्रहरी कार्यालय रामधुनीमा रहने जनाइएको छ ।

































Discussion about this post