रामधुनी : सुनसरी क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मैदानमा उत्रिएसँगै यो क्षेत्र चुनाव निकै रोचक हुने देखिएको हो ।
यस क्षेत्रमा कांग्रेस नेता राजीव कोइराला, एमालेका युवा नेता तथा युवा संघ कोशी प्रदेश अध्यक्ष सुजन लामा, नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी र रास्वपाका कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ को निर्वाचनमा भने यस क्षेत्रबाट एमालेका भीम आचार्य निर्वाचित भएका थिए ।
विगतमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने यस क्षेत्रमा यसपटक रास्वपाको सक्रिय उपस्थितिले परम्परागत शक्तिको मत समीकरण बदलिने संकेत देखिएको छ । गत निर्वाचनमा आचार्यले कांग्रेसका सिताराम मेहेतालाई करिब ६ हजार मतान्तरले पराजित गरेका थिए । त्यही चुनावमा उल्लेख्य मत ल्याएर ध्यान तानेका रास्वपाका थापा पुनः उम्मेदवार बनेका छन् । घण्टी चिन्हप्रतिको आकर्षण र केन्द्रीय माहोलले उनलाई थप ऊर्जा दिएको आकलन छ ।
कांग्रेसले यसपटक नयाँ अनुहारका रूपमा राजीव कोइरालालाई अघि सारेको छ । सरल, सादगीपूर्ण र युवामैत्री छविका कारण कार्यकर्तामा उत्साह देखिए पनि असन्तुष्ट र नयाँ मतदाता जोगाउने चुनौती भने कायमै छ । यस्ता मतदाता रास्वपातर्फ आकर्षित हुन सक्ने विश्लेषण गरिन्छ ।
उता एमालेका उम्मेदवार सुजन लामा संगठनलाई चलायमान बनाउँदै मतदाता भेटघाटमा सक्रिय छन् । परम्परागत मत सुरक्षित राख्दै युवा मतदातालाई तान्ने रणनीतिमा उनी केन्द्रित देखिन्छन् । नेकपाकी उम्मेदवार रामकुमारी चौधरीले पार्टीको आधार मतसँगै थारु समुदायको समर्थन पाउने विश्वास लिएकी छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको चुनावी परिणाम अब संगठनको मजबुती, मतदाता परिचालन क्षमता र असन्तुष्ट मत कसले तान्न सक्छ भन्ने कुरामा निर्भर हुनेछ । एमाले र कांग्रेसको परम्परागत प्रतिस्पर्धाबीच रास्वपाको चुनौती कसलाई कति महँगो पर्छ भन्ने अन्तिम परिणामले निर्धारण गर्ने देखिन्छ ।

































Discussion about this post