रामधुनी । श्रम संस्कृति पार्टीका नेता तथा इटहरी खानेपानीका पूर्व अध्यक्ष रामप्रसाद चौलागाईंले इटहरीस्थित माया घर नेपाल र संस्थाकी संस्थापक अध्यक्ष तथा कथा बाचिका राधिका दासीबीचको विवादलाई लिएर गम्भीर आपत्ति जनाएका छन् ।
हाम्रोशब्द डटकमको फेसबुक पेजमा कमेन्ट गर्दै नेता चौलागाईंले माया घरलाई व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर सञ्चालन गर्न र संस्थाको अडिट रिपोर्ट तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले हालै दिएको लिखित जवाफ र स्पष्टीकरणलाई ‘कपटपूर्ण र अपर्याप्त’ भन्दै नेता चौलागाईंले सञ्चालकहरूको नियत, परोपकारी भावना र सामाजिक आचरणमाथि नै प्रश्न उठाएका हुन् ।
मायाघरको परिकल्पनाकार र मुख्य संस्थापकमाथि नै पछि आएर संस्थाको जिम्मेवारी सम्हाल्नेहरूले घात र मानहानी गर्नु निन्दनीय भएको चौलागाईको ठहर छ । ‘भिडियो र सामाजिक सञ्जालमा आएका ओठे जवाफ र एउटा पत्रका भरमा संस्थाको गिरेको साख जोगिन सक्दैन । कि त सञ्चालक समितिले संस्थामा उठेका विषयको सत्यतथ्य प्रतिवाद गर्नुपथ्र्यो, नभए अध्यक्षले कार्यसमितिको माइन्युट गराएर, समाजलाई साक्षी राख्दै शिर झुकाएर आत्माग्लानीका साथ सार्वजनिक माफी माग्नुपर्छ ।’
विवादले संस्थाको सेवाभाव, परोपकार र कल्याणकारी उद्देश्य कलंकित भएको भन्दै उनले मायाघरको गरिमा जोगाउन इटहरी उपमहानगरपालिकामार्फत सम्पूर्ण आर्थिक तथा प्रशासनिक कामकारबाहीको विस्तृत लेखापरीक्षण (अडिट) गराएर प्रतिवेदन सर्वसाधारणका लागि सार्वजनिक गर्न माग गरेका छन् ।
संस्था सञ्चालकहरूको बदनियतका कारण समाजमा अविश्वास बढेको उल्लेख गर्दै नेता चौलागाईंले आगामी दिनमा मायाघरलाई पूर्ण रूपमा पारदर्शी, मर्यादित र स्वार्थरहित ढंगले अगाडि बढाउन सञ्चालक समितिलाई आग्रहसमेत गरे ।
यद्यपी मायाघर र दासीबीच आपसी सद्भाव, विश्वास र आत्मीयताको सम्बन्ध रहेको भन्दै माया घरले यस विषयमा सामाजिक सञ्जालमा भएका नकारात्मक टीका–टिप्पणीहरूप्रति खेद प्रकट गरिसकेको छ ।



































Discussion about this post