रामधुनी । युवाहरूको नेतृत्व तथा क्षमता विकासमा क्रियाशील झुम्का जेसीजले विविध सामाजिक, शैक्षिक र क्षमता अभिवृद्धिका कार्यक्रमसहित साताव्यापी ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ ।
भदौ २६ गतेदेखि असोज ४ गतेसम्म सञ्चालन हुने सप्ताहमा पुस्तक हस्तान्तरण, नेतृत्वसम्बन्धी तालिम, फरक क्षमता भएका बालबालिकालाई सहयोग, विपत् व्यवस्थापन अभिमुखीकरण, वक्तृत्वकला प्रतियोगिता, राहत सहयोग तथा जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम आयोजना गरिने झुम्का जेसीजका अध्यक्ष रोसन खड्काले बताए ।
आयोजकका अनुसार सप्ताहको पहिलो दिन भदौ २६ गते शुक्रबार रामधुनी–३ स्थित भासी बहुमुखी क्याम्पसमा पुस्तक हस्तान्तरणसँगै ‘जेसीज सप्ताह २०२६’ को औपचारिक उद्घाटन गरिनेछ ।
भदौ ३० गते मंगलबार भासी उच्च माध्यमिक विद्यालयमा बिहान ८ बजे ‘जेसीआई मिसन र भिजन’ सम्बन्धी तालिम सञ्चालन हुनेछ । त्यस्तै असोज २ गते दुई फरक सामाजिक कार्यक्रम आयोजना गरिएको छ । बिहान १०ः३० बजे इनरुवास्थित जनता माध्यमिक विद्यालयमा फरक क्षमता भएका बालबालिकालाई कपडा वितरण गरिनेछ । सोही दिन दिउँसो १ः३० बजे रामधुनी–९ स्थित चन्द्रकमल माध्यमिक विद्यालयमा विपत् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन हुने झुम्का जेसीजले जनाएको छ ।
संविधान दिवसको अवसर पारेर असोज ३ गते शनिबार बिहान ११ बजे नेपाल रेडक्रस सोसाइटी झुम्का उपशाखामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ ।
सप्ताहको अन्तिम दिन असोज ४ गते आइतबार रामधुनी–५ स्थित कल्पवृक्ष पार्टी प्यालेसमा विशेष कार्यक्रमसहित समापन गरिने भएको छ । दिउँसो १२ बजे भोटेकोशी बाढी प्रभावितका लागि नेपाल जेसीजको राहतकोषमा रकम हस्तान्तरण गरिनेछ । त्यसपछि सोहि दिन दिउँसो २ बजे जेष्ठ नागरिकका लागि म्युजिकल चेयर प्रतियोगिता आयोजना गरी साताव्यापी कार्यक्रमको समापन गरिनेछ ।
सामाजिक उत्तरदायित्वसँगै युवाहरूमा नेतृत्व क्षमता, व्यक्तित्व विकास र सेवाभाव अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम समेटेर ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्न लागिएको अध्यक्ष खड्काले बताए ।



































Discussion about this post