‘गोरूको मासु खाएपछि दिमाग पनि सायद गोरू नै हुने त हैन ?’
यौटा ‘बिक्ने’ अनुहारको अभिव्यक्ति । झट्ट हेर्दा, यसलाई सामान्य अभिव्यक्ति जुन गोरुको मासु (न)खानेसँग सम्बन्धित छ भन्न सकिन्छ । तर यसको अन्तर्य चाहिँ निकै डरलाग्दो छ । यसले मुलतः तीनवटा आयाममाथि प्रहार गरेको छ; हिन्दुअतिवाद, सांस्कृतिक चेतनास्तर र उत्पीडितहरुमाथिको प्रहार ।
नेपाल सरकारको सचिव जस्तो ओहोदामा रहेर काम गरिसकेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउँदैगर्दा गोरुको मासु खानेहरुले पनि प्रश्न गर्लान् नि । ‘हामी गोरुको मासु खानेहरुको गोरुको जस्तै दिमाग छ अनि तिमी बोकाको मासु खानेहरु बोकाजस्तै भएर बलात्कारजस्तो जघन्य अपराधमा अब्बल भएका हौ ?’ तब यसले समाजलाई कतातिर डोहोर्याउछ ?
गोरुको मासु खानु वा नखानु भन्ने विषय कहिँकतै पनि व्यक्तिको बैचारिकता, बौद्धिकता, दिमागी समक्षतासँग गाँसिएकै छैन् । भीम उपाध्ययहरुले के बुझ्नुपर्छ भने गोरुको मासु खाने विषयसँग व्यक्तिको क्षमता, योग्यता जोडिने भएकोभए इलोन मस्क, विल गेट्स, बाराक ओबामा, सी जिनपिङ, भ्लाद्मिदर पुटिनहरुको मुलुकमा गोरुको मासु सहजै उपलब्ध छ । अझ स्पेन त्यस्तो देश हो, जहाँको राष्ट्रिय जनावर गोरु हो तर त्यहाँ गोरुको मासुलाई राम्रो आम्दानीको स्रोत मानिन्छ ।
मलाई लागेको चाहिँ, जसरी अहिले गोरुको मासु खान दिइनुपर्छ वा पर्दैन भनेर बहस सिर्जना भएको छ, यो कुनै बहसयोग्य विषय नै होइन । किनकि यो दूध सेतो र रगत रातो हुन्छ भनेजस्तै छर्लङ्ग विषय हो । कुरा सामान्य छ, मैले खादिनँ त्यसैले तिमीले पनि खान हुँदैन भन्ने तर्क त कसरी ठिक हुन सक्छ र ? आज खसीको मासु खानेहरुले गोरुको मासु खानु हुँदैन भनेर सामाजिक सञ्जाल रंग्याइरहेका छन्, भोलि गाईको मासु खानेहरुले खसीको मासु खानुहुँदैन भन्न थालेभने हुन्छ ? सुँगुरको मासु नखानेहरुले सुँगुरको मासु खानुहुँदैन भनेर सडकमा आएभने के हुन्छ ?
तर यी सबै त् भए बहस गरिनेपर्ने विषय । कानुनी राज्यमा कानूनको परिधिभित्र रहनुको विकल्प पनि छैन् । नेपालको संविधानको धारा ९ उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरको रुपमा गाईलाई राखिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद-२७ मा गाई गोरु काट्न नहुने उल्लेख गरेको छ, ‘कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउँनु हुँदैन ।’ सोही परिच्छेदको उपदफा (१) मा बमोजिमको गाई वा गोरु मर्न गएमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ । सँगैमा हरेक कुरा परिवर्तनशील छ, हुनुपर्छ । यो प्राकृतिक नियम हो । ऐन, कानून, संविधान पनि समयसँगै संशोधन गरिँनुपर्छ, यदि त्यो विभेदकारी छ भने ।
आफूलाई धर्म निरपेक्ष राष्ट्र भन्ने नेपालले सबै धर्म र समुदायको अस्तित्वलाई स्विकार गर्दै सबैखाले विविधताका फूलहरु फुल्ने वातावरण तय गर्नुपर्छ । कुनै एउटा धर्मलाई टेकेर सबैमाथि राष्ट्रिय जनावर लाद्न कसरी मिल्छ र ? मासु खाएकै निहुँमा जेल चलान गर्न कसरी मिल्छ र ? सबैखाले संस्कृति र विविधताहरु धर्म निरपेक्ष राष्ट्रका सम्पत्ति हुन्छन् । त्यसैले गाेरुकाे मासु खाएकै आधारमा अपमान, दमन गर्नु भनेकाे उसकाे संस्कृतिमाथिकाे आक्रमण र अपमान नै हाे ।
नेपालमा वि.सं. १९१० अघि प्रथाको रूपमा रहेको जातव्यबस्था अहिले व्यवस्थाको रूपमा छ । हामीकहाँ जातव्यवस्थाले झारो प्रथामा कसलाई ज्याला दिने, कसलाई नदिने ? कसको जुँठो कसले खाने, कसले नखाने ? कसलाई हेर्दा साइत पर्ने, कसलाई हेर्दा अल्छिन् लाग्ने जस्ता व्यवस्थाहरु निर्धारण गरिदिएको थियो, त्यसको प्रत्यक्ष / परोक्ष प्रभाव कुनै न कुनै रूपमा जबर्जस्त बाकी छ । त्यहीँ व्यबस्थाको उपज हो, कुन जातले केको मासु खाने, केको नखाने ? यसलाई तपाईं अहिलेको प्रसंगसँग जोडेर हेर्नुभयो भने तपाईंले पाउनुहुनेछ कि अधिकांश खसीको मासु खानेहरुले गोरुको मासु खानेहरुलाई गाली गरिरहेका छन् । यसबाट पनि प्रष्ट हुन्छ, जातव्यबस्थाले कसरी जरा गाडेको छ ?
नेपाल राष्ट्रमा २ सय ४० वर्ष शाहबंशीय राजाहरुले शासन गरे । र, उनीहरू हिन्दुधर्मबाट निर्देषित थिए । त्यसको उदाहरण हो, १९१० को मुलुकी ऐन, भारतका भट्ट थरका केही ब्राह्मणहरुलाई ल्याएर हिन्दु धर्ममा भएका व्यवस्थाहरुलाई टेकेर बनाइएको थियो । ३० वर्षे लामो पञ्चायत पनि त्यसैको धङधङी हो । त्यसो हुँदा ३० वर्ष नितान्त हिन्दु(अति)वादीहरुको कब्जामा राज्यसत्ता थियो भन्नुपर्छ । जसको कारण गाई राष्ट्रिय जनावर भयो । पछि गणतन्त्र आयो, पञ्चायतको स्वभाव र तिनै वरिपरिका नेताहरू राज्यसत्तामा आए फेरिपनि गाईनै राष्ट्रिय जनावर रहिआएको छ ।
कुनै धर्मविषेश जनावर राष्ट्रिय हुने अनि अन्य धर्मावलम्बी, समुदायले काटेर खाँदा अराष्ट्रिय कसरी हुनसक्छ ? यो कति तर्कसंगत छ ? कति बैज्ञानिक छ ? बैज्ञानिक आधारकै कुरा गर्ने होभने खसी, बोका, कुखुरा, राँगाको मासु खान मिल्ने र सुँगुर, गाई, गोरुको मासु खान नमिल्ने बैज्ञानिक आधार के छन् ? तर यसरी बहस गर्न कोही तयार छैनन् । किनभने यो गोरुको मासु खाने विषयसँग मात्र सम्बन्धित हैन । यहाँको अन्तर्य समस्या चाहिँ खानुहुन्छ र हुँदैन भन्ने विषयमा भन्दापनि अरुको संस्कृति वा अस्तित्वलाई कसरी दमन गर्ने भन्ने प्रवृतितर्फ उद्देलित छ । अहिले सामाजिक सञ्जालमा देखिएको विवाद पनि मुलतः त्यहीँ प्रवृत्ति नै हो ।
गोरुको मासुको खानुहुँदैन भनेर नितान्त एउटा समुदायको एउटा धर्मको मान्यताको अलावा केही पनि होइन । त्यसैलाई टेकेर बनाइएको कानूनले भनेको हो । त्यसो भन्दैमा सदियौंदेखि खाँदै आइरहेकाहरुमाथि खानुहुँदैन भनेर राज्यले दमन गर्न कत्तिको न्यायसंगत हुन्छ ? हिन्दु धर्मले बोक्ने मान्यताबाहेक के कारणले गोरुको मासु खानुहुँदैन ? राष्ट्रिय जनावरको तर्क गर्नुहुन्छ भने अष्ट्रेलियामा कंगारु राष्ट्रिय जनावर हो तर त्यहाँ मज्जाले कंगारु काटेर खाइन्छ । हाम्रै देशको हिमाली भेगतिर पाइने राष्ट्रिय चरा डाफेलाई मारेर खाने तिनै अतिहिन्दुबादीहरु छन्, जो अहिले फेसबुकतिर गोरु काट्नुहुँदैन भनेर कुर्लिरहेका छन् । विश्वमै धेरै गोरुको मासु निर्यात गर्ने देश भारतलाई मानिछ, त्यहाँ हिन्दुहरु नभएका हुन् र ? विश्वका धेरै देशहरुले गाई र गोरुको मासुलाई राम्रो आम्दानीको स्रोत बनाइरहेका छन् । स्वास्थ्यको तर्क गर्नुहुन्छ भने विज्ञानले गोरुको मासु खानु एकदमै राम्रो मानेको छ । तथ्यअनुसार गोरुको मासु खाने मान्छेले नै सर्वप्रथम आगो पत्ता लगाए, राईट दाजुभाईले हवाई जहाज बनाए, चार्ल्स ब्याबेजले कम्प्यूटर बनाए अनि झाङ यिमिङले टिकटक बनाए ।
नेपालका भोटे समुदायले गाईगोरुको मासु सदियौंदेखि खाँदै आएका छन् । पहाडी जिल्लाहरुमा अझै पनि सार्की समुदायले गोरुको मासु खाने गरेको वर्तमान छर्लङ्ग छ । एक संस्कृतिज्ञाताका अनुसार लिम्बू समुदायको एक पूजामा अनिवार्य गाईको टाउकोको बली चडाएर पूजा गर्ने प्रचलन थियो, तर अहिले संविधानले बर्जित गरेपछि प्रतिकात्मक रूपले राँगाको टाउको राखेर पूजा गर्ने प्रचलन अझै छ । जसरी हिन्दुहरू विभिन्न नाम गरेका मन्दिरहरुमा खसी, बोका, परेवा इत्यादिको भाकल गर्दै बली चडाउने गर्दछन्, त्यसैगरी कतिपय जनजातिका एकाध संस्कारमा गाईगोरुको मासु नभई नहुने परम्परा छ ।
तर, नेपालको राष्ट्रिय जनावर गाई भएपछि उनीहरूले न गाई खान पाएका छन् न त गोरु नै । आज पनि गोरुको मासु खाएको निहुँमा कयौं जनजातिहरु जेलजीवन कटाइरहेका छन् । हिजोको राज्य संरचना र शासनप्रणाली जस्तो किसिमको थियो, आज त्यो छैन् । त्यसैले यो समय यस् विषयमा बहस गर्नुपर्ने समय हो । सदियौंदेखि गोरुको मासु खाँदै आइरहेको समुदायले सहज रूपमा गोरुको मासु खान पाउनुपर्छ र, खसीको मासु खाँदै आइरहेको समुदायले पनि सहजै खसीको मासु खान पाउनुपर्छ ।
हुन त मासु खाने वा नखाने नितान्त स्वच्छिक कुरा पनि हो । तर जब कुनै समुदायको संस्कार, संस्कृतिमाथि नै प्रश्न उठ्छ भने त्यो संवेदनशील कुरा बन्छ । किनकि कुनै समुदायको अस्तित्व / पहिचान नै उसको संस्कार, संस्कृति हो । हामी संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्ष राष्ट्रमा बसोबास गर्दछौ भने सबैले सबैको अस्तित्वलाई नस्विकारेर हुन्छ र ? आज गोरु खाएको निहुँमा प्रकाउ परेकाहरुलाई रिहाइ गर्न सञ्जाल, सडक हुँदै सदनसम्म आवाज उठ्न थालेको छ । यहीँ लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष पनि हो ।
राज्यले जति उत्पीडित तथा अल्पसंख्यकहरुलाई उनीहरूको संस्कार, संस्कृति, पहिचानमाथी प्रहार गर्छ; त्यसले ठूलो विद्रोहको रुप लिनसक्छ । जहाँ दमन र शोषणले मुस्लोको रुप लिन्छ, त्यहाँ विद्रोह जरुर हुन्छ । त्यसैले यो झिल्कोलाई यहीँ निभाउन आवश्यक छ । तर केही बौद्धिक भनिएका हिन्दुवादीहरुलाई हेर्दा लाग्छ कि उनीहरू फेरिपनि उत्पीडितहरुलाई अराजक हुन बाध्य बनाउँदैछन् । आफ्नो संस्कार संस्कृतिलाई मानेर बसिरहेको उत्पीडितलाई किन चल्मलाउदैछन् उनीहरू ? उत्पीडितहरू चुपचाप बसेकोले, संघर्ष नगरेकोले आजसम्म उनीहरूको हालीमुहाली चलेको हो । एकतन्त्रीय शासन चलेको हो । यसरीनै कहिले केको नाममा, कहिले केको नाममा उत्पीडितहरुमाथि प्रहार भइरहने होभने उनीहरू संघर्षमा आउनेछन् र, जुनदिन उनीहरू संघर्षमा आउनेछन् त्योदिन हिन्दुअतिवादीहरुको अहमताको पर्खाल जरुर भत्किनेछ ।
समयले निकै कोल्टे फेरिसक्यो, उत्पीडित, अल्पसंख्यक तथा दलितहरू अब संघर्ष गर्नसक्ने स्थितिमा आइपुगेका छन् । आफ्नो संस्कार, संस्कृतिमाथी कसैले जबर्जस्ती रोक्न खोज्छभने उनीहरू प्रतिवाद गर्नसक्ने भएका छन् । यही कुरा सामन्तीहरुलाई नपचेको मात्र हो । त्यसैको उपज हो, अहिले गोरुको मासु खान दिनुहुँदैन भन्ने बहस । उत्पीडितहरुलाई हकअधिकार दिन सामन्तहरू हिजो पनि तयार थिएनन् आज पनि छैन । त्यसको ज्वलन्त उदाहरण हो, राप्रपाको प्रेस बिज्ञप्ती । बिज्ञप्तीमा उसले भनेको छ, गोरु काटेर खानु दु:खद र निन्दनीय । हुन त राप्रपाबाट अपेक्षा पनि यहीँ हो । तर पनि चुलो छोएको कारण दलितहरू मारिँदा, अन्तर्जातीय विवाहका कारण दलितहरू जेलचलान हुँदा, छाउपडी प्रथाका कारण महिलाहरू मारिँदा आँखा चिम्मा गर्ने राजावादीहरूले गोरु काटेर खाएको चाहिँ कसरी झट्टै देख्दा हुन् ? फेरिपनि उनीहरूलाई हेक्का होस, हिजो उत्पीडितहरु अधिकार माग्न नसक्ने वा नचाहने स्थितिमा थिए भने अहिले विद्रोह गर्नसक्ने भएका छन् ।