इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद अशोक कुमार चौधरी प्रति कडा टिप्पणी गर्दै आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै मेयर पौडेलले आफूविरुद्ध विगतदेखि नै झुटा आरोप, भ्रमपूर्ण प्रचार र चरित्रहत्या गर्ने प्रयास भइरहेको दाबी गरेका हुन् । उनले भदौ २३-२४ मा भएको जेन-जि विद्रोहका क्रममा आफ्नो घरमा आगजनी हुनुअघि नै सामाजिक सञ्जाल, फेक मिडिया र फेक आईडीमार्फत आफ्नो र परिवारको चरित्रमाथि प्रहार गरिएको उल्लेख गरेका छन् ।
पौडेलले आफूले अरबौं रुपैयाँ भ्रष्टाचार गरेको, अकुत सम्पत्ति जोडेको, काठमाडौंमा घर, जग्गा तथा शेयर खरिद गरेकोजस्ता आरोपहरू निराधार रूपमा फैलाइएको बताएका छन् । उनले यस्ता विषय संसदसम्म पुगेको र सरकारले गठन गरेको छानबिन समितिमा आफूले सम्पत्ति विवरणसमेत बुझाइसकेको दाबी गरेका छन् ।
‘अब खेल आरोपको होइन, प्रमाणको हो,’ भन्दै पौडेलले आफूमाथि सम्पत्ति लुकाएको, गैरकानुनी आर्जन गरेको वा राज्यलाई गलत सूचना दिएको प्रमाण भए कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
स्टाटसमार्फत उनले सांसद चौधरीलाई लक्षित गर्दै भनेका छन्, ‘मेरो साथीभाइलाई फोन गरेर धम्क्याउने, भेट्न बोलाउने र मेरो पछि हात धोएर लागेको सांसद अशोक चौधरीलाई पनि मेरो चुनौती छ। यो राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो, सत्ताको फुर्ति नगर । प्रमाणित गर कि सांसदको गरिमा राख ।’
मेयर पौडेलले प्रमाणका आधारमा दोषी ठहर भए कानुनअनुसार जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन्। तर प्रमाणबिना झुट, भ्रम, ट्रोल, फेक आईडी र चरित्रहत्याको राजनीति धेरै दिन नचल्ने चेतावनी पनि दिएका छन् ।
उनले आफू लोकतन्त्र, विधिको शासन र कानुनी प्रक्रियामा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै आफ्नो राजनीतिक चरित्र सधैं जनताको परीक्षणका लागि खुला रहेको बताएका छन् ।
सांसद चौधरी इटहरी उपमहानगर र मेयर पौडेलमाथि सामाजिक संजालदेखि संसदसम्म प्रश्न उठाउँने गरेका छन् ।




































Discussion about this post