रामधुनी । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारीहरुले आन्दोनल गरिरहेका छन् ।
संघीय संसदमा पेश गर्ने तयारी गरिएको विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्नुपर्ने भन्दै शुक्रबारदेखि स्थानीय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।
सुनसरीको रामधुनी नगरपालिकामा कार्यरत कर्मचारीहरुलेसमेत आजबाट आन्दोलन सुरु गरेका छन् । आज करिब २ घण्टा ‘पेन डाउन’ गरेर अत्यावश्यक बाहेकका सेवा रोकेका कर्मचारीहरुले भोलिदेखि थप शसक्त आन्दोलन गर्दै दिनभर नै सेवा रोक्ने बताएका छन् ।
शुक्रबार नै ‘पेन डाउन’को कार्यक्रम राखिएको भए पनि थारु समुदायले मनाउने जितियाको सार्वजनिक बिदाका कारण आइतबार मात्रै रामधुनीमा आन्दोलन सुरु भएको हो । संघीय सरकारले निजामती विधेयकमा आफुहरुका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने स्थानीय तह कर्मचारी संघर्ष समिति रामधुनीका संयोजक दुर्गेश विश्वकर्माले बताए ।
के-के छन् माग ?
- संघीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने।
- स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने।
- निजामतीको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरूलाई समेत समेटिनु पर्ने।
- विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने।
- समायोजनका कर्मचारीहरूको (सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी) उचित व्यवस्थापन गरिनु पर्ने।
- तिनै तहका कर्मचारीहरूको समान बृत्ति विकासको व्यवस्था गरिनु पर्ने।
- स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नु पर्ने।
- स्थानीय सेवाका कर्मचारीहरुलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनु पर्ने।
- जुन सुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने।
- स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने।
- अस्थायी तथा करार कर्मचारीहरूको उचित व्यवस्था गरिनु पर्ने।


































Discussion about this post