रामधुनी । सुनसरीमा करिब ६४ प्रतिशत माटोमा अम्लीयपन पुष्टि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीले तीन ओटा स्थानीय तहमा १९४ ओटा माटोको नमुना परिक्षण गर्दा १२४ ओटामा अम्लीयपन पुष्टि भएको हो ।
ज्ञान केन्द्रले चैत्र अन्तिम साता दुहवी नगरपालिका–१० मा ५४ ओटा, गढी गाउँपालिका–१ मधेलीमा ८४ ओटा र भोक्राहा नरसिंह गाउँपालिका–६ मा ५६ ओटा नमुना संकलन गरेको थियो । संकलित नमुना माटो तथा मल परिक्षण प्रयोगशाला झुम्कामा परिक्षण गर्दा करिब ६४ प्रतिशतमा अम्लीयपन भेटिएको ज्ञान केन्द्रका सूचना अधिकारी प्रविण लाल श्रेष्ठले जानकारी दिए ।
सबैभन्दा धेरै गढीमा ८३.३३ प्रतिशत अम्लीयपन पाइएको छ । त्यस्तै दुहवीमा ५९.२६ प्रतिशत र भोक्राहामा ३९.२९ प्रतिशत अम्लीयपन पाइएको छ । त्यस्तै क्षारिय माटो २१.१३ प्रतिशत र तटस्थ माटो १४.९५ प्रतिशत पाइएको ज्ञान केन्द्रले जनाएको छ ।
माटोमा अम्लीयपन धेरै हुँदा उर्वराशक्तिमा ह्रास आउँने र उत्पादन घटने भएकाले अम्लीयपन धेरै देखिनु चिन्ताको बिषय भएको ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए । उनले, ‘माटोको उर्वराशक्ति कम भयो भने बालिनाली र बोटबिरुवाबाट राम्रो फल पाउन सकिदैँन । अम्लीयपन देखिनु चिन्ताको बिषय हो । यसको सुधारका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।’
त्यस्तै उत्पादन राम्रो बनाउनका लागि अम्लिय र क्षारिय नभई तटस्थ माटोको आवश्यकता पर्ने माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका प्रमुख माटो विज्ञ दिगम्बर यादव बताउँछन् । ‘बालिका लागि ६.५ देखि ७.५ पिएचमान भएको तटस्थ माटो उपयुक्त हुन्छ । ६.५ भन्दा कम र ७.५ भन्दा बढी पिएचमान भएको माटो उत्पादनका दृष्टिले त्यति राम्रो होइन । अम्लीयपनले माटोको उर्वराशक्ति कमजोर भएको देखाउँछ’ यादवले भने । रासायनीक मल कम मात्रै प्रयोग गरेर कृषि चुन र प्रांगारिक पदार्थको प्रयोगमार्फत माटोमा अम्लीयपन हटाउँन सकिने यादवको भनाई छ । त्यसका लागि सबै संघ, प्रदेश र स्थानीय गरेर तिनै तहका सरकार र किसानले पनि त्यतिकै सक्रियता देखाउनु आवश्यक रहेको उनको भनाई छ ।