रामधुनी । रामधुनी नगरपालिका—६ मा रहेको शंकरवेली सिमसार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको घुँइचो लागेको छ । छेउमै हरियाली जंगल र ढकमक्क फुलेका शिरीषको फूलैफूलको मनमोहक दृश्यले शंकरवेली युवा पुस्ताको रोजाइको गन्तव्य बन्न पुगेको छ ।
सिमसार क्षेत्रको आकर्षक दृश्य टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत भाइरल भएसँगै टिकटक भिडियो खिच्न र सामाजिक सञ्जालमा फोटो पोस्ट गर्न खोज्ने युवायुवतीको उल्लेख्य उपस्थिति यहाँ देखिन थालेको छ । ‘टिकटकमा सबैजनाले पोस्ट गरेको देखेपछि आउँन मन लाग्यो । निकै नै शुन्दर रहेछ’ धरानकी सुस्मिता राईले भनिन् । युट्युबसँगै अन्य सामाजिक मिडिया प्लेटफर्महरूमा पोष्ट गर्नलाई आकर्षक भिडियो र फोटो बन्ने भएकाले भ्लगरहरू शंकरवेलीमा आइरहेका छन् । ‘यहाँको फूल र हरियालीले भरिएको प्राकृतिक लोकेसनमा भिडियो खिच्दा दृश्य एकदमै जीवन्त देखिन्छ । युट्युब, टिकटक, इन्स्टाग्राम सबैतिर फोटो भिडियो एकदम सबैले मन पराइरहेको देखिन्छ,’ भ्लगर सरोज लिम्बूले भने ।
स्थानीय युवायुवतीदेखि आसपासका जिल्लाबाट समेत यहाँ आउनेहरूको घुइँचो लागेको शंकरवेली सामुदायीक बन समितिका अध्यक्ष धनबहादुर लिम्बूले बताए । ‘यहाँ ढकमक्क फूलेको शिरीषको फूल सबैले मन पराएको देखियो,’ उनले भने, ‘टिकटकमा भिडियोहरु भाइरल बनेपछि युवापुस्ताको क्रेज बढेको छ । अस्ति शनिबार त ५० हजारजति मान्छे आएको हाम्रो अनुमान छ । आइसक्रिम बेच्ने एकजनाले मात्रै एकैदिन ७५ हजारको बेचेछन् ।’ आजभोलि दैनिक कम्तिमा पनि पाँच हजार युवायुवति शंकरवेली आउँने गरेको लिम्बूले बताए । सिरिसको फूल जेठ लागेपछि फूल्ने र करिब एक महिना मात्रै रहने भएकाले छोटो समयका लागि मात्रै यहाँ पर्यटकको भीड लाग्ने गरेको छ । अघिल्लो बर्षसमेत यहि जिनमा सामान्य भीड देखिएको भए पनि यो बर्ष अत्यधिक पर्यटक आएको अध्यक्ष लिम्बूले बताए ।
रामधुनी नगरपालिकाले विगतदेखि नै शंकरवेलीको पर्यटकीय बिकासमा काम गरिरहेको र पर्यटकीय आकर्षण बढ्दो देखिएसँगै यो क्षेत्रको संरक्षण र पूर्वाधार विकासमा प्राथमिकता दिइने नगर उपप्रमुख तारा थापाले बताइन । उनले भनिन्, ‘शंकरवेली युवा पुस्ताको आकर्षणको केन्द्र बनेको छ । यो एकदमै सकारात्मक र खुशीको कुरा हो । यसको संरक्षण र थप बिकास लागि नगरपालिकाले बिशेष पहल गर्नेछ ।’