सुनसरी । चौथो राष्ट्रिय थारु चलचित्र महोत्सव २०८२ सुनसरीको झुम्कामा हुने भएको छ । थारु चलचित्रको संरक्षण र प्रवद्र्धनका लागि यहि असार ६ र ७ गते महोत्सव हुन लागेको हो ।
बुधबार झुम्कामा पत्रकार सम्मेलन गर्दै थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष पर्शुराम चौधरीले महोत्सवबारे जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा चौधरीले महोत्सवको तयारी, उद्देश्य र कार्यक्रमबारे प्रष्ट पारेका छन् ।
उनका अनुसार महोत्सवमा थारु भाषामा निर्माण भएका चलचित्रहरूको प्रदर्शन गरिनुका साथै कलाकार, निर्देशक र स्रष्टालाई सम्मान गरिनेछ । थारु चलचित्रहरू केवल मनोरञ्जनका माध्यम मात्रै नभई इतिहास, संस्कृति र संघर्षको अभिलेखसमेत भएको अध्यक्ष चौधरीले बताए । महोत्सवमार्फत नयाँ पुस्तालाई आफ्नै भाषा र संस्कृतिप्रतिको गर्व बढाउने लक्ष्य लिएको उनको भनाई छ ।
थारु चलचित्र तथा सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा हुन लागेको महोत्सवमा सुनसरी र मोरङ कार्य समिति सहआयोजकको रुपमा रहेको छ । महोत्सवलाई नेपाल चलचित्र विकास बोर्डलेसमेत सहयोग गरेको छ ।